रुपन्देहीमा ६५ र ६० लाखको चर्चा
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्व उपप्रधान एवम् गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा आज लामिछानेको तर्फबाट पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठसहित तीन जना वकिलले बहस गरेका थिए । सरकारी वकिलले जवाफी बहस सकाएपछि वादी र प्रतिवादी पक्ष आदेशको प्रतिक्षामा छन् ।
गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएर बयान दिएका लामिछानेको बिहीबारबाट थुनछेक बहस भएको हो । १८ सय बचतकर्ताको झण्डै ८७ करोड हिनामिना गरिएको सुप्रिम सहकारीबाट लामिछाने तत्कालीन प्रबन्धक निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा १४ करोड रुपैयाँ गैरकानुनी ढंगले प्रवाह भएको प्रहरी अनुसन्धानको निष्कर्ष छ । जिल्ला सरकारी वकिलको कार्यालयले गत आइतबार लामिछानेसहित २२ जनाविरुद्ध पूरक अभियोजन दर्ता गरेको थियो ।
गत मंगलबार साँझ रुपन्देही पुगेका लामिछाने उक्त रात भैरहवाको मेरिगोल्ड होटलमा बसेका थिए । त्यसयता पत्नी निकिता पौडेलसहित बुटवलको एक होटलमा बस्दै आएका छन् ।
यसअघि कास्की जिल्ला अदालतले उनलाई ६५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा छुटेपछि आज रुपन्देहीबाट अर्को आदेश हुन लागेको हो ।
टिप्पणीहरू