किशोरी मृत्यु प्रकरणमा गृहमन्त्रीलाई ध्यानाकर्षण
अछामका दुई जना किशोरीको मृत्यु प्रकरण छानबिनका लागि अछामका जनप्रतिनिधिहरूले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका छन् ।
आज बिहान राजधानीस्थित मन्त्री निवासमै पुगेर पूर्वमन्त्री तथा अछाम १ का सांसद शेरबहादुर कुँवर, अछाम २ का सांसद पुष्पबहादुर शाह र पन्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउनेले घटनाको निष्पक्ष छानबिनका लागि गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
मन्त्री लेखकले घटनाको जानकारी पाएदेखि नै आफूले गम्भिरतापूर्वक हेरिरहेको बताएको नगरप्रमुख चलाउनेले जानकारी दिए । घटनाको छानबिनका लागि प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान थालेको गृहमन्त्रीको भनाइ छ ।
ढकारी गाउँपालिका–८ कि १५ वर्षीय सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको सोही पालिकाको वडा नम्बर १ स्थित सुनघर सामुदायिक वनमा शनिबार बेलुकी शव फेला परेको थियो ।
शवको भेरी प्रादेशिक अस्पताल नेपालगन्जमा पोष्टमार्टम भइरहेको बताइएको छ । शुक्रबार बाख्रा चराउन घरबाट निस्केपछि सम्पर्कविहीन भएका थिए ।
टिप्पणीहरू