प्रधानमन्त्रीद्वारा सरकार नढल्ने दावी
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले राष्ट्रिय राजनीति सही ढंगले अगाडि बढिरहेकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
एमालेका अध्यक्षसमेत रहेका उहाँले आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै त्यस्तो दावी गर्नुभएको हो । अहिले देशको राजनीति संविधान र डेमोक्रेटिक प्रणालीअन्तर्गत शान्तिपूर्ण रुपमा अगाडि बढिरहेको ओलीले स्पष्ट पार्नुभयो ।
‘वास्तवमा भन्ने हो भने राष्ट्रिय राजनीति एउटा ट्रयाकमा गएको छ । राष्ट्रिय राजनीति संविधान र डेमोक्रेटिक सिस्टममा, शान्तिपूर्ण राजनीतिको मूलधारमा, संवैधानिक राजनीतिको मूलधारमा, लोकतान्त्रिक प्रणालीको मूलधारमा अगाडि बढेको छ । यसअर्थ हामी यिनै दृष्टिकोणअनुसार सफलतापूर्वक अगाडि बढेका छौँ', मुलुकको अवस्थाप्रति सन्तुष्ट हुँदै प्रधानमन्त्रीले भन्नुभयो ।
त्यसक्रममा ओलीले अस्थिरता मच्चाउन खोज्नेहरुले सरकार ढल्छ भनेर कुप्रचार गरेको आरोप पनि लगाउनुभएको छ । दिनदिनै सरकार ढल्छ भन्ने गरिएको बताउँदै अगाडि भन्नुभयो, ‘सरकार ढल्छ भनेर मिति तोकेका तोकै छन्, यो सरकार ढल्छ २०८४ को निर्वाचनपछि ढल्छ । २०८४ को निर्वाचनमा के परिणाम आएपछि कसरी जान्छ भन्ने हुन्छ । सरकार मंसिरमा ढल्छ, तर मान्छेहरुले अस्ति गएको मंसिर बुझेछन् । २०८४ को चुनावपछि सरकार परिवर्तन हुन्छ ।'
टिप्पणीहरू