हिजो तामझाम, आज पुर्पुरोमा हात
तामझामसहित ग्राण्ड प्रिमियर गरिएको चलचित्र ‘एक्टरः टेक वान’लाई ठूलो झड्का लागेको छ । काठमाडौँ जिल्ला अदालतले आगामी माघ २२ गतेसम्म प्रदर्शन रोक्न अल्पकालीन आदेश दिएको छ ।
‘एक्टर’को निर्माण कम्पनी नेपाली डायस्पोरा इन्टरटेनमेन्ट प्रा.लिले चलचित्रको नाम जुधाएको, दर्शकमा भ्रम सिर्जना गरी चलचित्रको व्यापारमा नोक्सानी पुर्याएको र क्षतीपूर्ती भरपाई गर्नुपर्ने मागसहित गत शुक्रबार ‘एक्टरः टेक वान’को टिमविरुद्ध रिट दायर गरेको थियो । चलचित्र विकास बोर्ड, ‘एक्टरः टेक वान’को निर्माण कम्पनी अदृत फिल्म्स र मोती फिल्म्सलाई प्रतिवादी बनाइएको उक्त रिटमा सुनुवाई गर्दै आज न्यायाधीश ढाकाराम पौडेलको इजलासले चलचित्रको प्रदर्शन तत्काल रोक्न र प्रत्यर्थी झिकाउन आदेश दिएको छ ।
भोलिदेखि प्रदर्शन हुने भनिएको ‘एक्टरः टेक वान’ले हिजो भक्तपुरको क्युएफएक्स सिनेमाजमा प्रिमियर गर्नुका साथै हलको अनलाइन बुकिङसमेत खुला गरिसकेको थियो । तर अदालतको आदेशले निर्माण टिमलाई ठूलो धक्का लागेको छ ।
झण्डै पाँच करोडमा निर्माण गरिएको ‘एक्टरः टेक वान’मा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइरालालगायतको अभिनय छ । सम्राट थापाको लेखन तथा मदन घिमिरेको निर्देशनमा बनेको ‘एक्टर’मा वरिष्ठ अभिनेता सरोज खनाल, कृष्ण मल्ल, प्रिन्स थापा, शिवानी गिरीलगायतको अभिनय छ ।
यसको प्रदर्शन मिति माघ ४ गते तोकिएको थियो । तर, ‘एक्टरः टेक वान’सँगको लफडाको कारण हल सञ्चालकहरुले प्रदर्शन गर्न मानेका थिएनन् ।
याे पनि...
सेलिब्रेटी कलाकारको फिल्मविरुद्ध अदालतमा रिट, के हो लफडा ?
टिप्पणीहरू