सरकार र अध्यादेशबारे धारणा बनाउन विपक्षी दलको बैठक बस्दै
पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबारदेखि शुरु हुने संसद्को हिउँदे अधिवेशनमा सरकारका अलोकतान्त्रिक कदमविरुद्ध प्रतिपक्ष दलहरुले सामुहिक प्रतिवाद गर्ने बताउनुभएको छ ।
सरकारले अलोकतान्त्रिक र निरङ्कुश शैलीमा अध्यादेश ल्याएको बताउँदै उहाँले त्यसविरुद्ध प्रतिपक्षहरु एक ठाउँमा उभिने जानकारी गराउनुभएको हो । आज दिउँसो समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै प्रचण्डले संसद बैठकअघि विपक्षी दलहरू बैठक बसेर साझा धारणा तय गरिने पनि बताउनुभयो ।
आफूहरूले विशेष अधिवेशन बोलाउने चेतावनी दिएपछि मात्रै सरकारले अधिवेशन आह्वान गरेको पनि उहाँको भनाई छ । सरकार जनता र राष्ट्रविपरितको काम गर्दै मुलुकमा आर्थिक संकट बढाउन उद्धत प्रचण्डले जिकिर गर्नुभयो ।
‘सरकारले अध्यादेशहरु बडो अलोकतान्त्रि र निङ्कुश तरिकाले ल्याएको छ । आफैंले भन्ने गरेको मान्यताविपरित सदनमा भएको विधेयकसमेत फिर्ता नलिइकन जबर्जस्ति जो अध्यादश ल्याउने काम भएको छ यो स्वेच्छाचारी र निरङ्कुश छ । यो प्रतिगमनतिरको यात्राको पाइलाहरु नै हो भन्ने महसुस गरेर हामीले तुरुन्तै सदन बोलाइँदैन भने हामी विशेष अधिवेशन बोलाउन वाध्य छौं र बोलाउँछौं भनेपछि मात्रै सरकारले बल्ल सदन बोलाएको छ', उहाँले भन्नुभयो, 'हामी सदनको पहिलो दिनका बैठकभन्दा अगाडि फेरि एकपटक बैठक बसेर सामुहिक ढंगले कसरी प्रस्तुत हुने, सकारले जनताको इच्छाविपरित र राष्ट्रविरोधी क्रियाकलापहरु र देशमा आर्थिक संकट बढाउनका लागि जो काम गरेको छ, भ्रष्टाचारीलाई बचाउने जो काम गरेको छ । आफ्नालाई बचाउने र राजनीतिक विरोधीमाथि प्रतिशोध साँध्ने जुन काम भएको छ त्यसको बारेमा विपक्षी दलहरुलाई सामूहिक रुपले अगाडि बढाउने कोसिश पनि हामीले गरेका छौं ।’
अध्यक्ष प्रचण्डले मुलुकको विकासका लागि नयाँ समाजवादी क्रान्तिको आवश्यकतामा समेत जोड दिनुभएको छ । आफू नेतृत्वको तत्कालिन सरकारले भ्रष्टाचारविरोधी अभियान चलाएको र उक्त अभियान यथास्थितिवादी र प्रतिगामीहरुलाई मन नपरेको कारण सरकार ढालिएको उहाँको भनाइ छ ।
टिप्पणीहरू