मनिषालाई सद्भावना दूत तोकेपछि खोप प्रारम्भ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एचपिभी खोप अभियानका लागि अभिनेत्री मनिषा कोइरालालाई सद्भावना दूतमा नियुक्त गरेको छ । एचपिभीसहित मन्त्रालयबाट सञ्चालन हुने सबै खालका खोप अभियानमा उनलाई तीन वर्षका निम्ति सद्भावना दूतमा नियुक्त गरिएको बताइएको छ ।
सरकारले यही माघ २२ गतेदेखि देशभर निःशुल्क एचपिभी खोप अभियान शुरु गर्दैछ । अभियानमा १० वर्षदेखि १४ वर्ष उमेर समूहका १६ लाख किशोरीलाई खोप लगाउने लक्ष्य छ । खोप उपलब्ध गराउन केन्द्रका रुपमा विद्यालयहरुलाई तोकिएको छ ।
विद्यालयमा अध्ययनरत छ कक्षादेखि १० कक्षासम्मका छात्राहरुलाई खोप उपलब्ध गराइनेछ । विद्यालयको साथै वडा कार्यालयबाट पनि छुटेकालाई खोप उपलब्ध गराइने मन्त्रालयको भनाइ छ । अभियानका लागि १७ लाख ७० हजार २० मात्रा एचपिभी खोप प्राप्त भएको छ ।
नेपालमा हरेक दिन औसत छ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ र चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने तथ्याङ्क छ । पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रुपमा नरहने अवस्थामा पुर्याउन सरकारले सन् २०३० सम्म तीनवटा स्वास्थ्य सेवाको गन्तव्य निर्धारण गरेको छ ।
जसअनुसार १० देखि १४ वर्षसम्म उमेरका कम्तीमा ९० प्रतिशत किशोरीलाई एचपिभी खोप दिने, ३० वर्षभन्दा माथिको उमेरका कम्तिमा दश प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने र पाठेघरको मुखको क्यान्सर निदान भएका कम्तिमा १० प्रतिशत महिलाको उपचार गरिनेछ ।
एचपिभी खोप सुरक्षित र प्रभावकारी छ । नेपालमा खरिद–आपूर्ति गरिने एचपिभी खोप विश्व स्वास्थ्य संगठनले गुणस्तरयुक्त प्रमाणित गरिरहेको छ भने मुलुकमा खोप अभियान सञ्चालन गर्नको लागि औषधि व्यवस्था विभागलेसमेत अनुमति प्रदान गरेको छ ।
टिप्पणीहरू