बनस्थलीमा ‘ह्यारेसमेण्ट’ र चरित्र हत्याको चर्चा
880 shares
![बनस्थलीमा ‘ह्यारेसमेण्ट’ र चरित्र हत्याको चर्चा](https://janaaastha.prixacdn.net/media/albums/raswapa_8j7TtMe6Qa.jpg)
पर्सिदेखि शुरु हुन लागेको संघीय संसद्को हिउँदे अधिवेशनमा उठाउने विषयमा छलफल गर्न आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्यो । बनस्थलीस्थित घण्टी कार्यालयमा डाकिएको बैठकमा हिउँदे अधिवेशनभन्दा पनि गत पुस २८ गते कास्कीको पोखरामा भएको घटनाको बढी चर्चा भएको बताइन्छ ।
तर, उक्त घटनासँग प्रत्यक्ष जोडिएकी भनिएकी सदस्य बिहानको बैठकमा उपस्थित थिइनन् । उनी गंगास्नान गर्न भारतको प्रयागराजस्थित कुम्भमेलामा पुगेकी छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सदस्य रहेकी रास्वपा सांसद विनिता कठायतले सभापति कुसुमदेवी थापासहित सदस्यहरु नेपाली काँग्रेसका सांसद वीरबहादुर बलायर र नेकपा एमालेकी सांसद सरस्वती सुब्बामाथि ‘ह्यारेसमेण्ट’ को आरोप लगाउँदै आएकी छन् ।
लुम्बिनी र गण्डकीका विभिन्न स्थानमा भएको अनुगमनको क्रममा उनीहरुले ‘दारु’ खाएर आफूलाई दुर्व्यवहार गरेको सांसद कठायतको ठोकुवा छ । त्यसैगरी, आफ्नो पार्टीका सांसद सुमना श्रेष्ठ र सोबिता गौतमको विषयमा तथानाम बोलेको उनले बताएकी थिइन् । सोही विषयमा संसदीय समिति बैठकमा समेत सभापति थापा र सदस्य कठायतबीच चर्काचर्की परिसकेको छ । कठायतले होटलको सिसीटिभी फुटेज झिकाउन माग गर्दै समितिमा लिखित उजुरी दिएकी छन् ।
रास्वपाको केन्द्रीय सदस्यसमेत रहेका सांसद हरि ढकालले आजको बैठकमा सोही प्रसंग निकाल्दै सभामुख देवराज घिमिरेमार्फत संसद्मा उक्त विषय उठाउनुपर्ने धारणा राखे । त्यसैगरी, समितिको कार्यक्रममा एनजिओलाई सहभागी गराउन नहुने उनको भनाइ छ । अन्य सदस्यले समितिका सभापतिसहित सदस्यहरुले ‘गुण्डागर्दी’ शैली देखाएको भन्दै विरोध जनाए । एमाले–काँग्रेसका माननीयहरुको पनि पोल खोल्न आवश्यक भइसकेको उनीहरुको जिकिर थियो ।
यता, कान्छी सांसदको रुपमा परिचित पार्टी सचेतक निशा डाँगीले केन्द्रीय सदस्य ज्वाला संग्रौलाको स्ट्याट्सप्रति गम्भीर आपत्ति जनाएकी छन् । पहिले रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालसँग नाम जोडेर आफ्नो बद्नाम गरेको र अहिले सभापति लामिछानेको चरित्रहत्या हुने स्ट्याट्स हालेको भन्दै उनले अनुशासनको कारबाही गर्नुपर्ने मागसमेत राखिन् ।
880 shares
टिप्पणीहरू