ताप्लेजुङको चक्काजाम खुलाउन इलामका व्यवसायी तत्पर

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण सम्बन्धी विवादको समाधान गरी चक्काजाम खुलाउन यातायात व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति इलामले विज्ञप्ति जारी गर्दै वार्ता र संवादको माध्यममार्फत हल खोज्न संघीय सरकारलाई आग्रह गरेको हो । अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित हुनुका साथै यातायात मजदुर, व्यवसायीलाई जीवनयापन गर्नसमेत समस्या परेको समितिको गुनासो छ ।
लामो समय यातायात बन्द हुँदा बैंकको किस्ता तिर्न कठिन हुनेतर्फ सरकारको ध्यानाकर्षण गराउँदै व्यवसायीहरुले २६० प्रतिशतसम्म भन्सार शुल्क तिरेर महँगो ब्याजदरमा ऋण लिई गाडी खरिद गरेको स्मरण गराएका छन् ।
‘यातायात व्यवसायीहरुको यो जटिल अवस्थालाई मध्यनजर गरी सरकार र बन्दकर्ता गम्भीर भई वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्न राज्य र बन्दकर्ताहरुमा विनम्र अनुरोध गर्दै अविलम्ब यातायात सुचारु गर्ने वातावरण तयार गर्न अनुरोध गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गर्दै आएको मुक्लुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समितिलगायतले गत माघ १५ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गरेका छन् । माग पूरा नभए प्रदेशभर चक्काजाम गर्ने उनीहरुको चेतावनी छ ।
टिप्पणीहरू