कसले चलाउँदै छ अझै जिबीको कम्पनी

कसले चलाउँदै छ अझै जिबीको कम्पनी

सहकारीका सयौं बचतकर्ताको अर्बौं रुपैयाँ अपचलन गरेर फरार गितेन्द्रबाबु उर्फ जिबी राई सञ्चालक रहेको ‘नेचर हब्र्स इन्टरनेशनल प्रालि’ चलिरहेको पाइएको छ । काठमाडौं महानगरपालिका–१०, शंखमूलमा केन्द्रीय कार्यालय रहेको सो कम्पनीको हालै भेला गरिएको छ । अन्नपूर्ण स्टार लिडर किरणदीप मल्लले माघ २६ गते उपभोक्ता, वितरक र अन्य लिडरलाई निमन्त्रणा दिएर कम्पनीको ‘प्रोफाइल, प्रोडक्ट र प्लान’ बारे छलफल गरेका छन् । 

जिबी अध्यक्ष एवं सञ्चालक रहेका सबैजसो सहकारी तथा कम्पनी डुबेका छन् । सहकारीको करोडौं रकम लगानी गरेर खोलिएको ग्यालेक्सी फोर–के टेलिभिजन बन्द छ । भागेर मलेसिया पुगेका भनिएका जिबीलाई खोज्न रेड कर्नर नोटिस जारी भएको छ । कास्की जिल्ला अदालतले राहदानी रद्द गर्न आदेश दिइसकेको छ । जिबीले लगानी गरेको सम्पूर्ण कम्पनी बन्द भए पनि ‘नेचर हब्र्स’ भने चलिरहेकै भेटियो । जिबी नै नभएपछि सो कम्पनी कसले चलाइरहेको होला ? सवाल उठ्छ नै ।

एक कर्मचारीका अनुसार त्यहाँ भएका झण्डै डेढ दर्जन कर्मचारी र लिडरहरूको सहकार्यमा कम्पनी चलिरहेको छ । कम्पनीले नभई लिडरले सो भेला आयोजना गरेको उनको भनाइ छ । जनआस्थासँग उनले भनिन्, ‘सञ्चालक भागे पनि कम्पनी बन्द भएको छैन । कर्मचारी र लिडर सहकार्य गरेर चलाइरहेका छौं । अहिले १५–१६ जना कर्मचारी छौं । लिडरहरू हुनुहुन्छ, उहाँहरूले व्यापार प्रवर्धनका लागि भेला राख्नुहुन्छ । यसमा कम्पनीको कुनै संलग्नता हुँदैन ।’

जिबीको सो कम्पनीले न्युट्रास्युटिकल्स सप्लिमेण्ट उत्पादन गर्दै आएको छ । नियामक निकायबाट इजाजत नलिईकन विभिन्न किसिमको फुड सप्लिमेण्ट उत्पादन गरेर जनताको स्वास्थ्यमाथि खेलबाड गरेको विषयमा जनआस्थाले यसअघि समाचार प्रकाशन गरेको थियो । वि.सं. २०७४ साउन २७ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको सो कम्पनीको नाम गोर्खा इन्टरनेशनल प्रालि थियो । 

पछि परिवर्तन गरेर नेचर हब्र्स राखिएको हो । सप्लिमेण्ट उत्पादनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट इजाजत लिनुपर्ने व्यवस्था छ । तर, कम्पनीले यस्तो अनुमति लिएको छैन ।
 

टिप्पणीहरू