ज्वाला संग्रौलाको स्टाटसले रास्वपामा कलह

ज्वाला संग्रौलाको स्टाटसले रास्वपामा कलह
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकमा केन्द्रीय सदस्य ज्वाला संग्रौलाले फेसबुकमा लेखेको विवादास्पद स्टाटसबारे चर्चा भएको छ । भोलिदेखि शुरु हुने संसद्को हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न हिजो बनस्थलीस्थित घण्टीघरमा बसेको बैठकमा नेताहरुले संग्रौलाको स्टाटसलाई लिएर चर्को विमती जनाएको बताइएको छ । 

सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलको स्वामित्वमा सञ्चालित नारी टिभीमा कार्यरत संग्रौलाले केही दिनअघि पार्टी नेतामाथि लक्षित गर्दै एक स्टाटस लेखेकी थिइन् । जहाँ सहकारी काण्डमा मुछिएका सभापति रवि लामिछानेको बचाउमा नबोलेको भन्दै नेताहरुप्रति आक्रोश पोखिएको छ । रविकै कारण पार्टीमा हैसियत बनेको नभुल्न उनले नेताहरुलाई घुमाउरो चेतावनीसमेत दिएकी छन् । 

‘हामी जतिसुकै बौद्धिक र पढे–लेखेको भए पनि रवि दाइकै कारणले रास्वपामा चिनिएका हौं, यो कुरा चाहिँ कदापी नभुलौँ’, संग्रौलाको भनाई छ, ‘रवि दाइमाथि यत्रो अन्याय हुँदा एक शब्द नबोल्ने, नलेख्ने, नाकमुख कतै नदेखाउने कसरी रास्वपाको नेता हुन लायक हुन्छ ?’

कुनै बेला ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई हप्कीदप्की गरेवापत मुद्दा मामिलासमेत खेपेकी संग्रौला यतिमै रोकिइनन् । त्यसको केही दिनपछि पुनः अर्को लामो स्टाटस लेख्दै आलोचना गर्ने नेताहरुलाई कटाक्ष गरिन् । ‘ज–जसले आज मेरो विरोध गरेर आफू रास्वपा हुँ भनिरहेका छन्, तिनीहरूको विगत खोज्दै जाने हो भने एउटा न एउटा काण्डमा मुछिएकै छन्’, उनले दावीका साथ भनेकी छन्, ‘मैले पर्दाफास गर्दै गए भने भोलि नाकमुख देखाउन गाह्रो होला महोदय !’

सभापति लामिछानेको कट्टर समर्थक संग्रौलाले लगातार यसरी फेसबुकमा लेख्न थालेपछि संसदीय दलको बैठकमा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ र सांसद निशा डाँगीले सोधिखोजी गरेका हुन् । बैठकमा सुमनले संग्रौलाको आलोचना गर्दै ‘ज्वालाजीको अलि ढंग पुगेन’ भनेर सांसदहरूको ध्यान आफूतिर केन्द्रित गरेको स्रोतको दावी छ । 

‘फेसबुकमा कतिसम्म लेख्ने, लेखेको कुराले कस्तो सन्देश जान्छ भन्ने कुरा एउटा सचेत नेताले ख्याल गर्नुपर्छ’, उनको भनाई स्रोतले सुनायो, ’तर उहाँले फेसबुकमा लेखेको हेर्ने हो भने उल्टै विरोधीलाई मसला हुने कुरा लेख्नुभएको हुन्छ ।’

त्यस्तै, अर्की सांसद डाँगीले पनि ‘मलाई नि घोचेर लेख्नुभएको थियो’ भनेर संग्रौलाको पुरानो स्टाटस स्मरण गराएकी थिइन् । स्रोत भन्छ, ‘अलि पहिले एकपटक उहाँ (ज्वाला)ले निशाजीलाई पनि कटाक्ष गरेर लेख्नुभएको रहेछ, उतिबेला मन दुखेको कुरा हिजो सुनाउनुभयो ।’ सांसद डाँगीले पार्टी अनुशासन उल्लंघन गरेर सभापति लामिछानको छविनै धमिल्याएको आरोप लगाउँदै संग्रौलामाथि कारबाहीको मागसमेत गरेको बताइएको छ ।

त्यस्तै, बैठकमा सांसद विनिता कठायत जोडिएको ‘पोखरेली साँझ’ र ’मदिरा पार्टी’को  प्रसंग पनि उठेको स्रोत बताउँछ । तर, भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा सहभागी हुन गएकी उनीबारे उताबाट फर्किएपछि विस्तृत छलफल गर्ने तय भएको बताइएको छ ।

टिप्पणीहरू