छेउमै राखेर देउवालाई ओलीको आग्रह– केही निर्देशन होस् न, सभापतिज्यू

छेउमै राखेर देउवालाई ओलीको आग्रह– केही निर्देशन होस् न, सभापतिज्यू
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलबाटै सरकारको प्रतिरक्षा नभएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । १३ गते सोमबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकमा नेपाली कांग्रेसतर्फ इंगित गर्दै उहाँले सरकारको प्रभावकारी बचाऊ नभएकोमा गुनासो गर्नुभयो । 

कांग्रेस सभापति शेरबहादुर देउवालाई आफू सँगैको विशेष कुर्सीमा बसाएर धारणा राख्नुभएका ओलीले भन्नुभयो, ‘विपक्षीहरू संसदमा एकजुट भएर आउने तयारीमा छन्, यस्तो बेला सत्तारुढ दल पनि एकजुट हुनुपर्‍यो । यौटै दलबाट समेत फरक–फरक मत आउनुभएन । त्यसले बाहिर राम्रो म्यासेज जाँदैन ।’

सरकारले हालै जारी गरेको अध्यादेशलाई लिएर विरोध जनाइरहेका विपक्षी दलहरूले शुक्रबारदेखि शुरु हुने संसदको हिउँदे अधिवेशनमा एकगठ भई प्रतिवाद गर्ने निर्णय गरेको सन्दर्भमा सत्ता पक्षको धारणा बनाउन बैठक बोलाइएको थियो । शुरुमा समग्र राजनीतिक घटनाक्रमबारे संक्षिप्त ब्रिफिङ गर्नुभएका ओलीले आफ्नै शैलीमा भन्नुभयो, ‘उनीहरू (विपक्षी) मोर्चा बनाउने प्रयास गर्दैछन्, तर बन्ला जस्तो त छैन । तै पनि हाउसमा देखाइदिन्छु भन्ने ढंगले अघि बढेका छन् । हामी पनि त्यसरी नै एकजुट हुनुपर्छ । ’ 

प्रधानमन्त्रीले सत्तारुढ दलहरूबीच कुनै असन्तुष्टि भए बैठकमा कुरा राख्न आग्रह गर्दै बाहिर आलोचना र टिप्पणी नपोख्न पनि आग्रह गर्नुभयो । ‘केही असहमति छ भने यसैगरी बैठक बसेर छलफल गर्न सकिन्छ, तर बाहिर लैजान हुँदैन । ’ प्रधानमन्त्रीलगत्तै बोलेका काँग्रेस उपसभापति तथा सरकार सञ्चालनसम्बन्धी कार्यदलका संयोजक पूर्णबहादुर खड्काले सरकारको बिरोधमा बाहिर बोल्न नहुने कुरामा समर्थन जनाउँदै विभिन्न सन्दर्भ जोडेर थप पुष्ट्याइँ गर्न खोजेका थिए । 

त्यसैक्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सिके राउतले थ्रेसहोल्डको प्रसङ्ग निकाल्दै त्यसबारे सोधखोज गरे । मधेसका मुद्दामा सरकार अनुदार रहेको भन्दै असन्तुष्टि पोखेका उनीहरूलाई पछि बोल्ने क्रममा प्रधानमन्त्रीले जवाफ दिँदै भन्नुभयो, ‘त्यस्तो होइन, थ्रेसहोल्ड ल्याउनेबारे सोचेका पनि छैनौँ ।’ 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले हालै दुई दलीय प्रणालीबारे दिएको धारणाबारे पनि गठबन्धन बैठकमा चर्चा चल्यो । तर, प्रधानमन्त्रीले भने ती सबै कुरा बाहिरी हल्ला मात्र हो भन्दै अन्यथा नसोच्न आग्रह गर्नुभयो। विगतका बैठकभन्दा कुर्सी व्यवस्थापन फरक थियो । अहिलेसम्म बालुवाटारमा बोलाएको गठबन्धनको कुनै पनि बैठकमा प्रधानमन्त्रीसँगै सत्ता साझेदार दलका नेतालाई राखेको देखिएको थिएन । तर, उक्त बैठकमा भने एमालेभन्दा १० सिट बढी भएको कांग्रेस सभापति देउवालाई उस्तै खालको कुर्सीमा सँगै राखियो ।

कांग्रेसभित्र सरकार र अध्यादेशको विरोधमा आवाज चर्केपछि त्यसलाई मत्थर पार्न त्यसो गरेको हुनसक्ने गठबन्धनसम्वद्ध साना दलका नेताहरूको बुझाइ छ । बैठकमा सहभागी एक नेता भन्छन्, ‘देउवालाई एकदम पुल्पुल्याएको पाइयो ।’ बैठकको अन्तमा प्रधानमन्त्रीले छेउमा रहेका देउवालाई केही निर्देशन दिन आग्रहसमेत गर्नुभएको थियो । ‘केही निर्देशन होस् न, सभापतिज्यू तपाईंबाट’ ठट्यौली पारामा ओलीले यसो भन्दा मुन्टो हल्लाउँदै देउवाको जवाफ आयो, ‘हैन हैन,मेरो पनि भनाई त्यही हो ।’ 

कांग्रेसलाई खुशी पार्न कुर्सी व्यवस्थापन बदलिएको बैठकमा बाँकी १७ महिना ओली प्रधानमन्त्री हुने र सरक्क देउवालाई हस्तान्तरण गर्ने कुरा चैं गरिएन । त्यस्तै बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई गाली नगर्नुभएका ओलीले भारत भ्रमण, सरकारको कामकारवाही र चीनसँग भएको हालैको बिआरआई सम्झौताबारे उच्चारण समेत गर्नुभएन । 

 

टिप्पणीहरू