एमालेका निम्ति टाउको दुखाइ बनेका यी ढकाल

कुनै बेला अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्रमध्येका विनोद ढकाल अहिले नेकपा (एमाले) का लागि टाउको दुखाइको पात्रमा परिणत भएका छन् ।
०८० असोज १२–१६ मा सम्पन्न कोशी प्रदेश अधिवेशनमा ओलीको पूरापूर साथ पाएका घनश्याम खतिवडासँग ८२ मतले पराजित ढकाललाई छेक्न मोरङ जिल्ला कमिटीको अधिवेशन रोकिएको छ ।
अध्यक्ष ओलीको निर्देशन नमानेर प्रदेश अध्यक्षमा भिडेका ढकाल त्यसबेला सबैतिरबाट एक्लै पार्दा पनि ४३० मत ल्याउन सफल भएका थिए । उनलाई हराएका खतिवडाले ५१२ मत पाए । अनौठो के थियो भने ओलीका असली कार्यकर्ता ढकाल एक्लै भिड्दा यसअघि आफूलाई साथ नदिएका खतिवडालाई ओलीले अँगालेर जिताएका थिए । त्यसबेला पूर्वराष्ट्रपति भण्डारीको साथ ढकाललाई मिलेको बताइएको थियो । तर, पूर्वराष्ट्रपति भण्डारीको आशीर्वाद प्राप्त नेताहरू शेरधन राईसहित खतिवडालाई जिताउन साम, दाम प्रयोग गरेर लागेको देखियो ।
त्यसकै परिणामस्वरुप खतिवडा प्रदेश अध्यक्षमा निर्वाचित हुँदा पराजित ढकाल ओलीको क्याम्पबाट पनि निकालिए । ढकालकै कारण २०८१ जेठभित्र भइसक्नुपर्ने मोरङ जिल्ला अधिवेशन अझै हुन सकेको छैन । बल्ल गत शुक्रबार बसेको सचिवालय बैठकले फागुन १७, १८ र १९ गतेलाई अधिवेशनको मिति तोकेको छ । पुस २१–२३ बसेको केन्द्रीय कमिटीको आठौं बैठकको निर्देशनपछि यो अधिवेशन हुन लागेको हो ।
ओलीविरोधी नेता डा. भीम रावलका कारण अछाममा जिल्ला अधिवेशन रोकिएजस्तै मोरङमा पनि ढकाललाई छेक्ने प्रयास चलिरहेको छ । उता, अछाममा भीम रावललाई पुस ११ गते निकाले पनि अझैसम्म एमालेले अधिवेशन गर्न सकेको छैन । त्यहाँ बरु एकपछि अर्को पहिरो गइरहेको छ । वडादेखि पालिका कमिटी नै भीम रावलको अभियानमा समाहित भइरहेका छन् । यता, मोरङमा पनि लामो समय ओलीकै छत्रछायाँमा रहेका ढकाल अहिले संस्थापन इतरका रूपमा खडा भएका छन् । ढकालकै कारण कोशीका १४ मध्ये १३ जिल्लामा अधिवेशन सकिँदा मोरङमा हुन सकेको छैन ।
मोरङमा बलियो पकड बनाएका पूर्वकेन्द्रीय सदस्य ढकालका कारण कोशीका हरेक जिल्ला अधिवेशनमा संस्थापन पक्ष डराएको उनीनिकट एक नेताले बताए । अध्यक्ष ओलीदेखि उनीनिकट नेताहरूले मोरङलाई प्रतिष्ठाको विषय बनाउनुको मुख्य कारण प्रदेशको राजधानी पनि हो । अर्कातिर जनसंख्याका हिसावले पनि मोरङ पहाडका ६ जिल्लाभन्दा धेरै उपस्थिति भएको जिल्ला हो । यदि यहाँ संस्थापन अर्थात् ओली नेतृत्वको टिमले हारेमा त्यो पहाडका अन्य जिल्ला हारेबराबरको नतिजा हो । मोरङ ओलीको गृहजिल्लासँगै जोडिएको छ । अहिले कोशी प्रदेशमा ओलीले चाहेअनुसारका नेता व्यवस्थापन गरेका छन्् । यो अवस्थामा यदि संस्थापन नै हारेमा त्यसले देशभर ओलीको कद घटेको सन्देश जाने चिन्ता उनीनिकटहरूलाई परेको छ ।
२०८० असोजको प्रदेश चुनावमा विनोद ढकाल एक्लै भिडे पनि ओली र निकट नेताहरूले सारा शक्ति लगाउँदा पनि खतिवडासँग ८२ मतको अन्तर खासै फराकिलो होइन । त्यसबेला ढकाललाई हराउने गरी मैदानमा ओलीनिकट आधा दर्जन नेता उत्रिएका थिए । हिक्मत कार्की, शेरधन राई, गुरु बराल र डा. शिवमाया तुङ्बाहाम्फे मैदानमै थिए । उता अर्का नेता भानुभक्त ढकालसमेत अर्का ढकालबन्धुलाई हराउन जोडतोडले खटिए । अहिले भानुभक्तले सकेसम्म परशुराम बस्नेतलाई जिल्ला अध्यक्ष बनाउन कोसिस गरिरहेका छन्् । प्रदेश अधिवेशनमा कोशीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेतामध्ये युवराज बाँस्कोटा र मोरङका रामलाल साह मात्रै चुपचाप विनोद ढकालको पक्षमा देखिन्छन् । पूर्वराष्ट्रपतिको साथ मिलेको बताइए पनि त्यसले ठूलो अर्थ र प्रभाव पार्ने अवस्था थिएन ।
त्यसबेला विनोदलाई एक्ल्याउने क्रममा आफूलाई चल्तापुर्जा नेता बताउने परशुराम बस्नेतलाई मतगणनास्थलमा खटाइएको थियो । ढकालले उदयपुर र धनकुटामा पनि मौनतासहित उपस्थिति देखाउँदा केही नेता जिल्ला नेतृत्वमा आउन सफल भएका छन् ।
विराटनगरमा लोकप्रिय रहेका सागर थापा ढकालकै पक्षमा छन् । २०७९ को स्थानीय तह निर्वाचनमा सबै शक्ति लाग्दा पनि मेयरमा थापाले राम्रो मत ल्याएका थिए । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र माओवादी केन्द्रको मोर्चाबन्दी हुँदा सागर सम्मानजनक मतसहित हारेका थिए ।
सागर यसअघि महानगर कमिटीका अध्यक्ष थिए । तर, उनलाई कारबाही नगरिए महानगरको मत ढकाल समूहले एकलौटी लैजाने हिसाब संस्थापनले निकाल्यो । मोरङमा जसरी पनि जित्ने रणनीतिमा रहेको संस्थापनले उनलाई असार ३ गते साधारण सदस्यबाटसमेत निकाल्ने गरी एमालेले कारबाहीको डण्डा चलायो । तर, उक्त कारबाही त्यसको ठीक दुई महिनापछि भदौ १ गते बसेको प्रदेश कमिटी बैठकले फिर्ता लियो । तर, प्रदेश इञ्चार्ज शेरधन राई र अध्यक्ष घनश्याम खतिवडासमेतको उपस्थितिमा भएको उक्त बैठकले सागरलाई महानगरको अध्यक्षमा फर्काएन । उनको अध्यक्ष पद खोसिदिने निर्णय भयो । थापालाई कारबाही फुकुवापछि प्रदेश कमिटीअन्तर्गत सहरी विकास विभागको सचिवमा थान्को लगाइएको छ ।
जिल्ला कमिटी मोरङले विराटनगरस्थित मानगढ खानेपानी उपभोक्ता समितिको निर्वाचनमा पार्टी उम्मेदवारलाई अन्तर्घात गरेको भन्दै अध्यक्ष थापासहित सहसचिव नवराज नेपाल र वडा नम्बर ३ का अध्यक्ष लालमणि भट्टराईलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।
जिल्ला कमिटीको कारबाहीविरुद्ध तिनले प्रदेश कमिटीमा अपिल गरे ! प्रदेश बैठकले जिल्लाको निर्णयअनुसार दुई महिना लामो कारबाहीलाई सदर गर्दै साधारण सदस्यबाट हटाउने निर्णय फिर्ता लिएको थियो । तर, थापालाई महानगर अध्यक्षबाट भने प्रदेश कमिटीले हटाइदियो । सागरको कारबाही फुकुवा हुँदा महानगरका एमाले सहसचिव नेपाललाई ४ महिना र भट्टराईलाई ६ महिनासम्म जिल्लाले गरेको कारबाहीलाई निरन्तरता थियो । थापा, नेपाल र भट्टराई तीनै जना विनोद ढकाल पक्षधर हुन् । मानगढ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा एमाले मोरङका तत्कालीन अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद ऋषिकेश पोखरेल र अधिवेशन आयोजक कमिटी संयोजक बाबुराम कार्कीले रामबहादुर घिमिरेलाई समर्थन गरेका छन् । घिमिरे २६ वर्षदेखि उक्त खानेपानी उपभोक्ता समितिको अध्यक्ष थिए । तर उनी समितिका लागि ४१ लाख रुपैयाँको जग्गा ८४ लाखमा किनेर हिनामिना गरेको विवादमा मुछिएका पात्र हुन् ।
उक्त खानेपानी उपभोक्ता समितिको चुनावमा तत्कालीन अध्यक्ष सागर थापा नेतृत्वको एमाले विराटनगर महानगर कमिटीले लालमणि भट्टराईलाई सघाएको थियो । लालमणि एमाले विराटनगर महानगर वडा नम्बर ३ का अध्यक्ष पनि हुन् । तर अहिले उनी र अर्का नेता नेपाल निलम्बनमा छन् ।
सागरलाई दुई महिने कारबाही र विराटनगर महानगर अध्यक्षबाट हटाउने निर्णय विनोद ढकाललाई कमजोर बनाउने रणनीतिअनुसार नै आएको एक नेताले दाबी गरेका छन् । खानेपानी योजनाको चुनावमा पार्टी लाइनविरुद्ध गएर अर्को प्यानल खडा गरेको नाममा थापासहितलाई कारबाहीको डन्डा चलाएर विनोदलाई कमजोर बनाउन खोजिएको बुझाइ इतर पक्षको छ । सागरको कारबाही दुई महिनापछि फुकुवा गरे पनि विराटनगर एमालेमा उनले अब हस्तक्षेपकारी निर्णय गर्न पाउने छैनन् ।
‘विनोद ढकाल एक्लै ओलीसहित उहाँका आशीर्वादप्राप्त स्थायी कमिटी सदस्यहरूलाई पनि भारी परेका छन्’, ती नेताले भने, ‘केन्द्रीय सल्लाहकार कमिटीका सदस्य ढकाललाई छेक्न अहिले संस्थापनले सबै किसिमको शक्ति लगाएको छ ।’ संस्थापनले मोरङमा चुनाव गर्न नचाहनुको कारण तेह्रथुम र उदयपुरको नतिजा पनि हो । त्यहाँ संस्थापनले अघि सारेका अध्यक्षका उम्मेदवार हारेका थिए । मोरङको संस्थापनमा हावी रहेका बस्नेत जीवन घिमिरे र बाबुराम कार्की पनि ढकाललाई कमजोर बनाउने अभियानमा छन् । निर्वाचित अध्यक्ष ऋषि पोखरेलले निर्वाचनै नगरी उनै बाबुरामलाई पद हस्तान्तरण गरेका थिए । सागरलाई कारबाहीको बहाना गरेर हटाएपछि अहिले रोहित कोइरालालाई एमालेले महानगरको अध्यक्ष बनाएको छ ।
कुनै बेला ओली एमालेमा शक्तिहीन हुँदा उनको समूहबाट काभ्रेमा गोकुल बाँस्कोटा र मोरङमा विनोद ढकाल मात्रै जिल्ला अध्यक्ष थिए । तर, कोशी प्रदेश अधिवेशनपछि ढकालको राजनीतिक यात्रा नै फेरिएको छ । अहिले उनी ओलीबाट टाढिएका मात्रै छैनन्, मोरङमा आफ्नो राजनीतिक अस्तित्वका लागि संघर्षरत छन् । ढकालले मोरङ एमालेको चुनावमा सागर थापा, वर्तमान जिल्ला समन्वय समिति संयोजक अजम्बर राई, रूपेश खतिवडा र महेश भट्टराईमध्ये एक जनालाई मैदानमा उतार्न सक्ने सम्भावना छ । तर, संस्थापनसँग अध्यक्ष पदका लागि सागर थापाले प्रतिस्पर्धा गर्ने सम्भावना बलियो छ ।
टिप्पणीहरू