चिनियाँ कम्पनीले बोकेको काम धमाधम

अधिकांश ठेक्का अलपत्र पारेको आरोपलाई गलत साबित गर्दै चिनियाँ कन्स्ट्रक्सन कम्पनीहरूले आफूले लिएको निर्माणका काम तीव्र गतिमा अघि बढाएका छन् । निर्माणाधीन सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सुरुङमार्गको ब्रेक–थ्रु तोकिएको समयावधिभन्दा अगावै भएको छ ।
राष्ट्रिय गौरवको उक्त आयोजनाको गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल प्रविधिबाट उद्घाटन गर्नुभएको हो । ब्रेक–थ्रुसँगै बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक हजार एक सय २६ मीटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ । सुरुङमार्गका लागि वि.सं.२०७७ सालमा मन्त्रिपरिषद् बैठकले बजेट विनियोजन गरेको थियो । सडक विभागले २०७८ जेठ ९ गते अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी सुरुङमार्ग निर्माण ठेक्का लगाएको हो ।
चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशन’ ले ठेक्का पाएको सुरुङमार्गको मुख्य भाग एक हजार १२६ मीटरको छ । तीन वटा बाइपास बनाइएको उक्त सुरुङमार्गको पहिलो बाइपास १५१, दोस्रो बाइपास १६१ मीटर र तेस्रो बाइपास १३० मीटरको छ । २०८३ सालभित्र काम सम्पन्न गर्ने सम्झौता भएपनि कर्पोरेशनले त्यसअगावै निर्माण सकाएर सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य लिएको छ ।
सुरुङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वतलगायत जिल्लामा आवतजावत गर्न सहज हुनेछ । यता, चिनियाँ पक्षले नारायणगढ–बुटवल सडकखण्डको एकतर्फी सडक आगामी जुनभित्र सक्नेगरी काम गरिरहेको छ । ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशन’ ले नै ठेक्का पाएको सो सडकखण्डको एकतर्फी यसैवर्ष र दुईतर्फी अर्को वर्षको अप्रिलमा सकाउने लक्ष्य लिइएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्डको आधा खण्डको काम पनि यही जुनभित्र सक्ने चिनियाँ पक्षले जनाएको छ । बाँकी रहने आधा काम धमाधम अघि बढाइने जानकारी दिइएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–४, विमलनगरस्थित ठूलो चट्टान हटाउन स्थानीयले नमानेपछि सडक निर्माणको काम रोकिएको थियो । चिनियाँ पक्षले ड्राइभर्ट गरेर खोलाछेउबाट सडक निर्माण गर्ने योजना बनाएको छ ।
एक सय मीटरको बाटो बनाउन सडक विभागबाट अनुमति लिएकोमा त्यसलाई थप गरी तीन सय मीटरको बनाउनुपर्ने भएको छ । जसका कारण निर्माणमा केही ढिलासुस्ती भएको हो । सडक विभागले अनुमति दिएमा त्यहाँ छिट्टै काम सम्पन्न हुने सम्भावना देखिन्छ ।
टिप्पणीहरू