बीमा बोर्डमा एमडी खोजिँदै

बीमा बोर्डमा एमडी खोजिँदै

स्वास्थ्य बीमा बोर्डमा रिक्त कार्यकारी निर्देशक नियुक्तिका लागि प्रक्रिया अघि बढेको छ । बोर्डको कार्यकारी निर्देशक नियुक्त गर्न गठित नाम सिफारिस समितिले आज सार्वजनिक सूचना निकालेर दरखास्त आह्वान गरेको हो । 

स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २२ बमोजिम कार्यकारी निर्देशक नियुक्ति गर्नुपर्ने भएकोले छनौटसम्बन्धी कार्यविधि, २०८१ को दफा ५ को उपदफा (१) बमोजिम दरखास्त आह्वान गरेको जनाइएको छ । इच्छुक योग्यता पुगेका व्यक्तिले आगामी दश दिनभित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवेदन पेश गर्न सक्नेछन् । 

सूचनामा उम्मेदवारको न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, कानून, चिकित्साशास्त्र, जनसंख्या वा स्वास्थ्य अर्थशास्त्रसम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा दश वर्षको कार्यअनुभव हुनुपर्ने उल्लेख छ । 

बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाको चार वर्षे कार्यकाल गत कात्तिक अन्तिममा सकिएपछि अहिले निमित्त कार्यकारी निर्देशक डा.सरोज शर्माको भरमा बोर्ड चलिरहेको छ । उनी स्वास्थ्य मन्त्रालयअन्तर्गत गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख पनि हुन् । 

गत मंसिर पहिलो साता स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नयाँ कार्यकारी निर्देशक नियुक्त नभएसम्मका लागि उनलाई बोर्डको आर्थिक र प्रशासनिक अधिकारसहित निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका थिए ।
 

टिप्पणीहरू