गिरीबन्धु सल्टाउन भूमि अध्यादेश ल्याइएको प्रचण्डको दावी

गिरीबन्धु सल्टाउन भूमि अध्यादेश ल्याइएको प्रचण्डको दावी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएका अध्यादेशको प्रक्रियामा मात्र नभई अन्तर्वस्तुमा समेत खोट रहेको बताउनुभएको छ । 

प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधन गर्दै उहाँले भूमि तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधनका लागि जारी अध्यादेशको नियतमाथि गम्भीर प्रश्न उठाउनुभयो ।  'ऐनको संशोधित प्रावधानहरूले वास्तविक भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जोतभोग गरिरहेको जग्गाको लालपूर्जा पाउन सहज हुन्छ कि झन् कठिन, जटिल र महंगो हुन्छ ?’– प्रचण्डले प्रश्न गर्नुभयो । 

मध्यवर्ती क्षेत्रको जग्गालाई उपलब्ध गराउन नसकिने नकरात्मक सूचीमा राखेर लाखौँ भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको अधिकार कुण्ठित गर्न खोजिएको उहाँको दावी छ । भूमि ऐनमै मध्यवर्ती क्षेत्र नकारात्मक सूचीमा राखिसकेपछि निकुञ्ज ऐन संशोधनको औचित्य नरहेको उहाँले स्पष्ट पार्नुभयो । 

अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउँदा भूमिको वर्गीकरण र मूल्यांङ्नमा रहेको अवैज्ञानिक प्रणाली सच्चाउने, गरिब, ग्रामीण क्षेत्र र कृषिको प्रयोजनमा भएको जग्गाको थोरै शुल्क तिरे हुने र धनी, सहरी क्षेत्रका र आवासको प्रयोजनका लागि दिने जग्गालाई धैरै शुल्क असुल गर्ने व्यवस्था गर्नुपर्ने आवश्यकता भए पनि तर सरकारले संशोधनमार्फत् ठिक उल्टो गर्न खोजिरहेको अध्यक्ष प्रचण्डको भनाई छ । 

‘बरू यस अध्यादेशका केही व्यवस्थाहरूले गिरीबन्धु टि–स्टेट सहित देशभरका हदबन्दी भन्दा धेरैका जग्गाहरूको किनबेच स्वामित्व हस्तान्तरणलाई कानुनी रूप प्रदान गर्न दुरुपयोग गर्न सकिने आधारहरू प्रदान गर्दछ', उहाँले भन्नुभयो, 'भूमाफियाहरूको चाहनाअनुरूप किसानको जमिनको भूउपयोग वर्गीकरण मनपरी ढंगले गर्ने र त्यसको परिवर्तन गराउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय धाउनुपर्ने व्यवस्था लागु गर्न खोजिएको छ ।’
 

टिप्पणीहरू