बालेनको बलमिच्याँइमा परेका कवाड व्यवसायीलाई सांसदको सान्त्वना
काठमाडौँ महानगरपालिकाले कवाड व्यवसायीमाथि चर्को धरपकड गरेको विषय संसदमा उठेको छ । आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्ने काँग्रेस सांसद नागिना यादवले कवाड व्यवसायीको जिउधनको सुरक्षा गर्न माग गरेकी हुन् ।
काठमाडौं महानगरले अराजक र अपहरणको शैलीमा व्यवसायीको भौतिक संरचना तोडफोड र धरपकड गरेको जनाउँदै उनले आपत्ति जनाइन् । देशमा संचालित उद्योगहरुलाई चाहिने कच्चा पदार्थ आपूर्ति र व्यापार घाटा कम गर्न कवाड व्यवसायको महत्वपूर्ण भूमिका रहेको नभुल्न सांसद यादवको आग्रह छ ।
व्यवसायीमाथि कुटपिट र अभद्र व्यवहार भइरहेको उल्लेख गर्दै उनले यस्ता गतिविधि तत्काल रोक्न माग गरेकी छन् ।
‘कवाड व्यवसायीहरुले नेपाल सरकारको प्रचलित कानून बमोजिम सम्बन्धित निकायको अनुमतिमा काठमाडौं महानगरपालिकाको विभिन्न वडामा व्यवसाय सञ्चालन गर्दै आएको छ । कवाड व्यवसायिहरुले सरकारलाई तिर्नुपर्ने सबै करहरु तिर्दै पनि आएको छ', सांसद यादवको भनाई छ, 'तथापि विगत एक वर्षदेखि काठमाडौं महानगरले कवाड व्यवसायीहरुलाई व्यापक तोडफोड गरिएको स्थिति छ । सामान जफत गरेको अवस्था छ । त्यसैगरी व्यवसायीहरुलाई कुटपिट गाली गलौज जस्ता अभद्र व्यवहार समेत गर्दै आएको देखिन्छ । दर्ता भइ आफ्नो काम गर्दै आइरहेका कवाड व्यवसायीमाथि भइरेको यस्ता अराजगत गतिविधिमा रोक लगाई कवाड व्यवसायिहरुको जिउधनको सुरक्षाको माग गर्दछु ।’
महानगरका मेयर बालेन्द्र साहले कवाड व्यवसाय हटाउने निर्णय गरेपछि व्यवसायीहरु लामो समयदेखि आन्दोलित छन् । काठमाडौँका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्दै आएका उनीहरुले पटक-पटक महानगर घेराउसमेत गरिसकेका छन् ।
मेयर बालेन्द्रले व्यवसायीमाथि दमन गर्दै तानाशाही प्रवृत्ति देखाएको गुनासो उनीहरुको रहँदै आएको छ ।
टिप्पणीहरू