प्रचण्ड संसदमा बोल्दा प्रधानमन्त्री नजानुको यस्तो प्रष्टोक्ति

प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेको दिन प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेको नेकपा एमालेले जनाएको छ ।
प्रमुख प्रतिपक्ष दलका नेताले संसदमा सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित हुनुपर्ने संसदीय अभ्यास मिचिएको भन्दै चर्को आलोचना भएपछि एमालेको तर्फबाट यस्तो प्रतिक्रिया आएको हो । प्रचण्डले सम्बोधन गर्न लागेको विषय प्रधानमन्त्रीलाई जानकारी भए पनि स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसकेको सो पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
हिजो प्रतिनिधिसभा बैठकमा पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफू बोल्ने समयमा प्रधानमन्त्री उपस्थित नभएको भन्दै गुनासो गरेका थिए । प्रधानमन्त्रीले संसदीय प्रचलन तोडेको भन्दै माओवादी केन्द्रले बिरोध गरेको छ । अन्य राजनीतिक दल र संसदीय मामिलाका जानकारहरुले पनि प्रधानमन्त्री सदनमा उपस्थित नभएकोप्रति आश्चर्य व्यक्त गरिरहेका छन् ।
तर, बर्तौलाले भने प्रधानमन्त्री संसद्मा उपस्थित हुने तयारीमै रहँदा स्वास्थ्यमा असहजता भएपछि आउन नसकेको दावी गरे । यद्यपि हिजो प्रधानमन्त्रीको सचिवालयले 'प्रमुख प्रतिपक्ष दलका नेताले संसदमा बोल्न लागेको विषय जानकारी नभएको' प्रतिक्रिया दिएको थियो ।
शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा बर्तौलाले भने, 'प्रमुख प्रतिपक्षी दलका नेताले माघ २४ गतेको बैठकमा बोल्दै हुनुहुन्छ भनेर सम्बन्धित पार्टीका प्रमुख सचेतकज्यूले मलाई जानकारी गराउनुभएको थियो । यो विषय प्रधानमन्त्रीज्यूको जानकारीमा समयमै पुगेको समेत अवस्था हो । हिजो उहाँ आउने तयारीमा पनि हुनुहुन्थ्यो, तर उहाँलाई सहजता भएन । स्वास्थ्यमा समस्या भएको कारणले उहाँको हिजो कुनै पनि सार्वजनिक कार्यक्रमहरू रहेन ।'
संसद्मा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रमुख प्रतिपक्षी दलका नेतालाई निम्त्याउने र प्रमुख प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री पनि उपस्थित रहने प्रचलन छ ।
टिप्पणीहरू