वर्षमानले फोन संवाद बाहिर ल्याएकोमा शंकर पोखरेलको विमत्ति

वर्षमानले फोन संवाद बाहिर ल्याएकोमा शंकर पोखरेलको विमत्ति

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तसँगको फोनवार्तामा अध्यादेश स्वीकृतिको लागि सहयोगको याचना नगरेको बताएका छन् । 

आज समाजिक सञ्जालमा लामो धारणा राख्दै उनले ‘अध्यादेशमा सहयोग मागेको’ भन्ने पुनको भनाइ खण्डन गरेका हुन् । एमाले महासचिव पोखरेलले आफूलाई फोन गरेर अध्यादेशमा समर्थन मागेको उनको भनाइ थियो । 

‘अस्तिसम्म हामीसँग दुईतिहाइ छ भनेर धाक लगाउँदै हिंड्नुभएको थियो, अब दुई दलीय व्यवस्थामा लान्छौं भन्ने हुंकार गर्नुहुन्थ्यो’, सार्वजनिक मन्चबाट पुनले भनेका थिए, ‘तर एमालेका महासचिव शंकर पोखरेलजीले फोन गरेर अध्यादेशमा सहयोग गर्न भन्दै हारगुहार गर्दै हुनुहुन्थ्यो ।’

महासचिव पोखरेलले भने फोनमा अरु नै कुरा भएको र पुनले गलत प्रजारबाजी गरेको दावी गरेका छन् । पार्टीकाे जिम्मेवार नेताको हैसियतमा आफूले फोन गरेको तर पुनले अनौपचारिक कुरालाई पनि सार्वजनिक खपतको विषय बनाएको उनले दुखेसो गरे । 

‘अब त उहाँसंग अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने पो देखियो’ पोखरेलले भनेका छन्, ‘उहाँले के उद्देश्यले त्यसो गर्नु भो स्पष्टै छ, तर त्यसले उहाँलाई र उहाँको पार्टीलाई नै नोक्सान हुनेकुरा हो ।’

अध्यादेशमा सहयोग माग्ने नै भए सिधै माओवाटी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग वार्ता गर्न सकिने जनाउँदै उनले पुनले नीजि प्रचारको लागि गलत सन्देश प्रवाह गरेको जिकिरसमेत गरेका छन् । ‘वास्तवमा वर्षमानजीले सार्वजनिक गरेजस्तै सहयोग र याचना गर्नुपर्ने आवश्यकता भएको भए उहाँसँग होइन सिधै माओवादी अध्यक्ष पुष्पकमल दाहालमार्फत नै हुने थियो, आवश्यक ठानिएको विषयमा अहिले पनि हुँदै पनि आएको छ’, उनले थपेका छन् । 

राजनीतिक ध्रुवीकरणका सन्दर्भमा एमालेको नीति स्पष्ट रहेको पनि पोखरेलले बताए । बलियो कम्युनिष्ट आन्दोलनको वातावरण तयार गर्न आफूले फोन गरेको पोखरेलको प्रष्टोक्ति छ ।

‘विगतमा नेताका टाउका जोडेर गरिएको पार्टी एकता असफल भयो, अब पुनः त्यही काम गर्नु उचित हुँदैन’, उनले अघि भनेका छन्, ‘कार्यकर्ताका मन जोडेर बलियो कम्युनिष्ट आन्दोलको निर्माण अबको बाटो हो, वर्षमानजीलाई फोन गर्नुको अन्तर्य त्यसका लागि वातावरण तयार गर्नु पनि त हुन सक्दछ ।’

 

टिप्पणीहरू