हरियो सागमा विषादीपछि किसान सर्वाधिक मर्कामा, उपभोक्ता तनावमा

रायोको सागमा विषादी भेटिएको खबर फैलिएपछि किसानहरु मर्कामा परेका छन् । अनेकौ दुःख गरेर लगाएको साग बिक्नै छोडेपछि किसानको बारीमा कुहिने अवस्था आएको छ । गत पुस तेस्रो साता कालिमाटी फलफूल तथा तरकारी बजारमा ल्याइएका रायो र पालुङ्गोको सागमा विषादी भेटिएको थियो ।
कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गत कृषि प्रयोगशालाद्वारा गरिएको परीक्षणमा उपत्यकामै उत्पादित ती सागमा अधिक विषादी पाइएको बताइन्छ । विषादीको खबरपछि अहिले रायो र पालुङ्गो सागको मूल्य स्वाट्टै घटेको छ भने उपभोक्ताले साग किन्नै छोडेका छन् ।
तर, अहिले विषादी प्रयोग नभएका सागसमेत बारीमै कुहिने अवस्था आएको कृषकहरु बताउँछन् । काठमाडौंको मूलपानीमा झण्डै डेढ रोपनी जग्गा भाडामा लिएर रायो साग खेती गर्दै आएकी सुस्मिता कार्की विषादीको खबरपछि साग बिक्री हुनै छोडेको बताउँछिन् ।
निकै सस्तो मूल्यमा साग दिन्छुभन्दा समेत बिक्री नभएको उनको गुनासो छ । ‘विषादीको हल्लाअघि साग मुठाको १५–२० रुपैयाँ थियो । अहिले ५ रुपैयाँ मुठामा दिन्छुभन्दा पनि बारीबाट उठिरहेको छैन,’ उनले भनिन् ।
लाइकीरा, पुतलीले असर गरेर कहिलेकाँही विषादी हाल्ने गरेपनि अहिले नहालेको दाबी गर्दै कार्कीले थपिन्, ‘केही आम्दानी हुन्छ कि भनेर जग्गा भाडामा लिएर साग खेती गरे । तर, अहिले बिक्री गर्ने समयमा विषादीको हल्लाले सबै दुःख र मेहेनत खेर गएको छ । अब त लागत समेत नउठ्लाजस्तो छ ।’
मूलपानीमै रायो र पालुङ्गोको साग खेती गर्दै आएका अशोक घिसिङ पनि विषादीको खबरपछि लाखौंको घाटा भएको दुःखेसो गर्छन् । पहिले दैनिक एक सय मुठासम्म साग बिक्री गर्ने गरेकोमा अहिले सित्तैंमा दिँदासमेत कसैले लैजान नमान्ने उनको गुनासो छ । ‘विषादीको खबरपछि साग बिक्नै छाडेको छ । सित्तैंमा लैजानुभन्दा समेत मानिसहरु विषादी हालेको छ भनेर लग्दैनन्,’ उनले भने ।
गत वर्ष साग खेती गरेरै १० लाख रुपैयाँ गरेका घिसिङ यस पटकको लगानी बेकार भएको सुनाउँछन् । उनी भन्छन्, ‘यस पटक नराम्ररी डुबियो । मल र बीऊकै पैसा नउठ्ने भएको छ । पानीको छुट्टै छँदैछ ।’
उता, भक्तपुरको दुवाकोटमा रायो साग खेती गर्दै आएकी शोभा बराल पनि बारीबाट साग उठ्नै छोडेको बताउँछिन् । जतिसुकै सस्तो मूल्यमा साग बेच्दा पनि गाडी भाडासमेत नउठ्ने भन्दै व्यापारीहरुले गुनासो गर्ने गरेको उनको भनाइ छ । ‘ग्राहकले साग किन्दैनन् भनेर व्यापारीहरु लैजान नै मान्नुहुन्न,’ उनले भनिन् ।
विषादीको हल्लाले विषादी प्रयोग नभएका सागसमेत बिक्री नहुँदा आफूहरु मर्कामा परेको भन्दै कृषकहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । सबै ठाउँको सागमा विषादी परीक्षण गर्नुपर्ने वा आफूहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।
टिप्पणीहरू