गृहमन्त्रीविरुद्ध संसदमा विरोध, बाहिर प्रदर्शन

गृहमन्त्रीविरुद्ध संसदमा विरोध, बाहिर प्रदर्शन

सर्लाहीका सत्येन्द्रकुमार राम र नेहा रौनियारमाथि राज्य शक्तिको आडमा जातीय विभेद गरिएको भन्दै आज पनि संसदमा कुरा उठेको छ । आजको प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरुले उक्त घटनामा गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख (आईजिपी) बसन्तबहादुर कुवँरको प्रत्यक्ष संलग्नता रहेको दावी गर्दै राजीनामा मागे । 

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रकी सांसद सुशिला श्रीपाईलीले दलित भएकै कारण सत्येन्द्रकुमार र नेहा असुरक्षित रहेको भन्दै गृहमन्त्री लेखक र प्रहरी प्रमुख कुवँरको राजीनामा माग गरिन् । ‘सर्लाहीको अन्तरजातीय प्रेमविवाह गर्ने जोडी र परिवार अहिले सुरक्षित छैनन्’, उनले भनिन्, ‘२१औँ शताब्दीमा पनि मनुस्मृति सोच र व्यवहारबाट परिचालित गृहमन्त्री र प्रहरी प्रमुखलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन म जोडदार माग गर्दछु ।’ 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले पनि सरकारले दलित अधिकारको कत्लेआम गरेको बताए । ‘हरेक वर्ष दलितले अन्तरजातीय विवाह गरेको कारण मारिनुपर्ने ? प्रेम गरेका कारण दलितहरू घरवास उठीवास लाग्नुपर्ने ?’, आक्रोश पोख्दै उनले भने, ‘अनि राज्यका संयन्त्रहरू दलितका अधिकार कुल्चनलाई, दलितलाई मान्छे हुन नदिनलाई प्रयोग हुनुपर्ने ? यसमा नेपाल सरकार र गृह मन्त्रालयको जवाफ चाहियो !’ 

बानेश्वरस्थित संसद भवनमा सांसदहरुले गृहमन्त्रीको आलोचना गरिरहँदा बाहिर गेटमा पनि दलित अभियन्ताहरुले प्रदर्शन गरेका छन् । ‘दलित हिंसा गर्ने गृहमन्त्रीलाई कारवाही गर’ लेखिएको नेमप्लेटसहित प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ । 

उता, एआईजी रविन्द्र केसीलाई पनि राजीनामा दिन बाध्य पारेको भन्दै गृहमन्त्री लेखकको आलोचना भइरहेको छ । चैत ५ गतेबाट अनिवार्य अवकाशमा जान लागेका डिआइजी जनक भट्टराईलाई बढुवा गराउनको लागि गृहमन्त्रीले केसीलाई राजीनामा दिन दबाब दिएको बताइएको छ ।

टिप्पणीहरू