एमाले अखिलमा के देख्न पर्‍यो नि !

एमाले अखिलमा के देख्न पर्‍यो नि !
सुन्नुहोस्

एमाले अखिलका अध्यक्ष समिक बडालले आमाचकारी गाली गर्दैनन् । तर, महासचिव नरेश रोकायाको कुरै बेग्लै छ । शंखमूलको डाउन एण्ड डक क्याफेतिर दिनभरि नै अड्डा जमाएर बस्छन् । त्यो क्याफे उनकै गृहजिल्ला बाजुराका एमाले नेता कर्ण थापाको छोराले खोलेका हुन् । नातामा रोकाया कर्ण थापाको ज्वाइँसमेत पर्दछन् ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा नरेश रोकायसहित चमेना गृहको बाहिरपट्टि गोलघरमा बसेर गफ हान्दै थिए । त्यही बेला आइपुगे युवासंघका पूर्वअध्यक्ष तथा एमाले केन्द्रीय सदस्य रमेश पौडेल । उनले के छ ? मात्र के भनेका थिए, नरेश सिधै आगो भइहाले, कसलाई भाइ भनेको, म तिम्रो भाइ हो र ? यसरी भाइ भन्ने हैन भन्दै उफ्रिएपछि, परिस्थिति बिग्रन सक्छ भन्दै रमेश कार्यालयभित्र पसे ।

केन्द्रीय सदस्यलाई सुत्केरी बिदा 

घटना गत वर्षको हो तर रोचक छ । तेस्रो पूर्ण बैठक गत वर्ष (२०८०, फागुन ३–४ गते) काठमाडाैँमा सम्पन्न भयो । गोरखाकी प्रमिला खड्का र रामेछापकी सुष्मिता कार्कीलाई सुत्केरी भएको भन्दै बिदा दिइयो । जबकि निर्वाचित केन्द्रीय सदस्यलाई यसरी बिदा गर्ने व्यवस्था विधानमै छैन । केही केन्द्रीय सदस्य र आयोगका सदस्यहरू देशबाहिर जाँदा भने बिदा गरिएको थियो । तर, सुत्केरी केन्द्रीय सदस्यलाई बिदा गर्दा ठूलै हंगामा मच्चियो । 

उपत्यका विशेष प्रदेशबाट केन्द्रीय सदस्य निर्वाचित एक केन्द्रीय सदस्यका अनुसार ‘बैठकको एजेण्डाअनुरूप बोल्न दिइन्छ, जब बोल्न शुरु गरिन्छ, महासचिवले ‘ओ भाइ, समय सकियो, तुरुन्त बस्’ भन्न थाल्छन् । सामाजिक सञ्जालमा नेतृत्वको आलोचना गर्न पाइँदैन, आलोचना गर्दा स्पष्टीकरण सोध्ने गरेको नजिर बसालेपछि, बैठकमा मज्जाले बोल्न पाइँदैन । 

अखिलले विभिन्न क्याम्पसमा अध्यक्ष बन्न या कमिटीमा आबद्ध हुन २८ नकटेको हुनुपर्ने भनेको छ । तर, काठमाडौँ घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा ३० कटेकालाई अध्यक्ष बनाइएको छ भने इलाममा केन्द्रीय सदस्य तथा सहइञ्चार्जलाई जिल्ला अध्यक्ष बनाउने अशोक खतिवडालाई माथि पुर्‍याइएको छ ।

फोटोखेतीले निम्त्याएको खति

अखिल सम्मेलन/अधिवेशनमा फोटोखेती हुने गरेको पाइन्छ । कुनै बेला रामकुमारी झाँक्रीलाई रक्ताम्य भएको फोटो प्रिन्ट गरेर चितवन र पोखरा सम्मेलनमा उपाध्यक्ष हुँदै अध्यक्ष बनाइयो । रामकुमारी त व्यवस्था बदल्ने आन्दोलनमा घाइते भएकी थिइन् । पछि त्यसको सिको नविना लामाहरूले समेत गरे । अहिले पनि त्यस्तै हर्कत गर्दै छन् । 

कसैलाई त्रिचन्द्र क्याम्पसको भवन ठेक्का कसले पार्ने भन्ने विषयमा लफडा पर्दा नेविसंघले काटेका थिए भने केहीलाई केटी काण्डका कारण पृथ्वीनारायण क्याम्पसमा अर्को समूहले रामधुलाई गरेको थियो । बेलैमा केन्द्रीय नेतृत्वले राजनीतिकरण गरेकाले यो कुरा बाहिर आउन पाएन । त्यही कटाइ र कुटाइ खाएर अंगभंग भएको फोटो देखाउँदै सेती किनारमा अखिल क्रान्तिकारीले फ्याँक्दासमेत बाँचेर आएको हुँ भन्दै गफ दिन थालिएको छ । 

अखिल स्थायी कमिटीको दोश्रो पूर्ण बैठक माघ २०–२१ गते ललितपुरको युनिभर्सल इञ्जिनियरिङ कलेजमा बसेको थियो । लामो समयपछि अधिवेशन मितिसमेत घोषणा हुन सक्ने आकलनसहित बसेको बैठकमा प्रत्येक सदस्यलाई १० मिनेटका दरले समय निर्धारण गरिएको थियो । ४३ जनाको स्थायी कमिटी (३ जना विदेश पलायन भइसकेका छन्), १७ पदाधिकारी, ८ प्रदेश अध्यक्ष र ३ आयोग अध्यक्षसहितको स्थायी कमिटी छ । सो बैठकमा बोल्नेले नेतृत्वको आलोचना गरेका थिए । आकाश घर्ती मगर, विकास श्रेष्ठ र विशाल न्यौपानेले नेतृत्वको राम्रैसँग काँध थामे । 

अघिल्लो महिनाको स्ववियु कार्यशालापछि संस्थापन पक्षले जिल्ला भेला गर्दा १७ जिल्लाका अध्यक्ष उपस्थित थिए । संस्थापनाले नै छुट्टै भेला गरेको भन्दै चर्को आवाज उठेपछि विद्यार्थी इञ्चार्ज किशोरविक्रम मल्ल र भानुभक्त ढकाललाई असहज भएको थियो । 

बर्गर हाउसको भेलाले बैठकमा चर्काचर्की 

सो भेलामा नरेश रोकायालाई अध्यक्ष, सञ्जीव धिताल या मनोज ताम्लीलाई महासचिव बनाउने र आकाश घर्ती मगर, विशाल न्यौपाने, आर विक्रम ओखेडा, जीबी गजल, विकास श्रेष्ठलगायतलाई सचिव बनाउने भनिएको थियो । भेला सञ्जीव धितालको लगानी रहेको बर्गर हाउस, शंखमूल दोभानमा भएको थियो । अखिलका ८२ जिल्ला छन् । 

बैठकले २०८२ जेठ १–४ सम्म २४औं अधिवेशन गर्ने भनेको छ । ठाउँचाहिँ अबको केन्द्रीय कमिटी बैठकले तय गर्नेछ । भानुभक्त ढकालले अधिवेशनको मिति तोकेर जानुपर्ने आशय व्यक्त गरेपछि अधिवेशनको मिति तोकिएको हो । 

टिप्पणीहरू