सुजाताले किन भनिन् ‘देउवाको काम छैन’ ?
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा उमेरले ७८ वर्ष पुग्नुभयो,तर नेतृत्व हस्तान्तरण गरेर विश्राम लिने छाँट देखिएको छैन । राजनीतिक विश्राम लिनुअघि पत्नी डा. आरजु राण देउवालाई प्रभावशाली बनाउनु उहाँको न्यूनतम चाहना हो भनेर पार्टीपंक्तिले बुझिसकेको छ ।
पार्टीको आगामी १५औँ महाधिवेशनमा सभापति देउवाको रणनीति आखिर के हो त ? पदाधिकारी बैठकमा नेताहरुले नै सोधखोज गरेका छन् । भूतपूर्व प्रधानमन्त्री तथा पार्टी सभापति स्व. गिरिजापुत्री एवम् नेतृ सुजाता कोइरालाले ‘देउवाको केही काम छैन’ भन्दै आलोचना गरेपछि अन्य नेताहरु पनि महाधिवेशनकेन्द्रित प्रश्नमा घोत्लिएका हुन् ।
आज बूढानीलकण्ठस्थित देउवा निवासमा बसेको पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठकमा एक नेताले ‘१४औँ महाधिवेशनमा तपाईंकै प्यानलबाट लडेका साथीहरुले आगामी महाधिवेशनमा के गर्ने भन्नुहुन्छ,के जवाफ दिउँ म ?’ भनेर सोधेका थिए । सभापति देउवाले भने बायाँपट्टी बसेका महामन्त्री गगन थापालाई हेर्दै ‘तपाईंहरु मिलाएर अघि बढ्नुहोस्’ भन्ने छोटो जवाफ दिएर धेरै मुख नखोलेको बताइन्छ । बरु उहाँले ‘महिलालाई पनि समेट्नुपर्छ’ भन्दै पत्नी आरजुलाई स्पेस दिन खोजेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
‘०८२ अघि महाधिवेशन भएर नयाँ नेतृत्व आयो भने उहाँ प्रधानमन्त्री बन्ने कुरै आउँदैन नि,त्यसैले पनि उहाँको पहिलो टार्गेट विभिन्न बहाना र कारण देखाई मिति धकेल्ने नै हो ।’
उनका अनुसार देउवाको प्रधानमन्त्री भएपछि मात्रै पार्टीको महाधिवेशन गराउने मनशाय देखिन्छ । पत्नी आरजुलाई पनि पार्टीको नेतृत्वदायी भूमिकामा व्यवस्थापन गर्न खोजिरहेको उनैले बताए ।
सामान्यतयाः पार्टी विधानअनुसार ०८२ भित्र सभापति देउवाले महाधिवेशन गराइसक्नुपर्छ । तर उहाँलाई महाधिवेशन छ महिनादेखि एक वर्षसम्म लम्ब्याउने सुविधा भएकाले समयमै सम्पन्न हुनेमा कार्यकर्ता ढुक्क देखिँदैनन् । त्यसमाथि,एमालेसँगको सात बुँदे सहमतिअनुसार (गठबन्धन तलमाथि नभएमा) अबको १७ महिनापछि देउवा छैठौँ पटक प्रधानमन्त्री बन्ने पक्का छ ।
यस्तो अवस्थामा देउवा सकभर महाधिवेशन धकेल्ने,आफू प्रधानमन्त्री बन्ने र पत्नीलाई ‘वेल सेट’ गराउने रणनीतिमा लागेको इतर पक्षका नेताहरुको आरोप छ । सभापति देउवालाई नजिकबाट नियालेका र पूर्वमन्त्रीसमेत रहेका एक नेता भन्छन्, ‘०८२ अघि महाधिवेशन भएर नयाँ नेतृत्व आयो भने उहाँ प्रधानमन्त्री बन्ने कुरै आउँदैन नि,त्यसैले पनि उहाँको पहिलो टार्गेट विभिन्न बहाना र कारण देखाई मिति धकेल्ने नै हो’ ।
आगामी महाधिवेशनबाट पत्नी आरजुलाई कम्तीमा महामन्त्री बनाउने देउवाको चाहना रहेको उनले पनि बताए । ‘आरजुलाई अहिले परराष्ट्रमन्त्री बनाउनुको उद्देश्य नै त्यसैको होमवर्क हो’, ती नेताले थपे ।
आजको बैठकमा वर्तमान गठबन्धनलाई जसरी पनि ०८४ सम्म लैजाने,सरकारले ल्याएका अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत गर्न अन्य राजनीतिक दलसँग सहयोग माग्नेलगायतका विषयमा पनि छलफल भएको बताइन्छ ।
टिप्पणीहरू