यस्तो थियो प्रधानमन्त्री र भूतपूर्व प्रधानमन्त्रीको ‘लभस्टोरी’
सामान्यतया : प्रेम महसुस गर्न र अभिव्यक्त गर्न कुनै विशेष दिन वा क्षण पर्खिरहनु पर्दैन । तर,पश्चिमा समाजका ट्रेण्ड र प्रविधिको विकासले नेपालमा पनि प्रणय दिवस (भ्यालेन्टाइन डे) को दिन माया साटासाट गर्ने परम्परा स्थापित हुँदै गएको छ । यसलाई सेलिब्रेसन गर्ने नगर्ने भन्ने विषय व्यक्तिको निजी मामिला हुनसक्छ ।
रोमियो–जुलियट,मुना–मदनलाई धेरैले प्रेमको प्रतिविम्व मानिरहँदा हाम्रा प्रधानमन्त्री तथा भूतपूर्व प्रधानमन्त्रीको लभ स्टोरी कस्तो थियो होला ? प्रसङ्ग रोचक हुनसक्छ ।
चौथो पटक सत्ताको बागडोर सम्हालिरहनुभएका ७२ वर्षीय प्रधानमन्त्री केपी शर्मा ओलीले ३६ वर्षको उमेरमा बिहे गर्नुभयो । तेह्रथुममा जन्मिएर झापामा हुर्केपछि ओलीले बिहे गर्नुभएकी राधिका शाक्य काठमाडौँ उपत्यकाकी रैथाने हुनुहुन्छ । उहाँ पाटनमै जन्मे हुर्केकी र पढाइमा अब्बल । तर,ओलीसँग कसरी दिल बस्यो होला ? कारण अलिकति फिल्मीजस्तै लाग्छ ।
२०२२ सालदेखि विद्यार्थी राजनीतिमा लाग्नुभएका ओली २०२८ सालको झापा आन्दोलनका कारण चर्चा आउनुभयो । ओलीको भनाईलाई आधार मान्ने हो भने तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध आवाज उठाएकै कारण उहाँ ०३० असोज २३ गते रौतहटबाट पक्राउ पर्नुभयो । पछि गौर कारगार,वीरगञ्ज कारागार, नख्खु कारगारलगायतका ठाउँमा १४ वर्ष बिताउनुभयो । त्यतिबेला केही पत्रिकाले ओलीबारे लेखेका थिए, जुन शाक्यले पनि पढ्नुभएको थियो ।
२०४४ असारमा ओली जेलमुक्त भएलगत्तै नेकपा (एमाले) को केन्द्रीय सदस्य बन्नुभयो । त्यतिबेला शाक्य पनि पार्टीको साधारण सदस्य हुनुहुन्थ्यो । एउटै विचारधाराको पार्टीमा सँगै भएपछि दुई जनाबीच परिचय भएको शाक्यले आफ्नो पुस्तक ‘मेरा अनुभूति’मा उल्लेख गर्नुभएको छ ।
ओलीले बिहेको प्रस्ताव गर्नु अघिसम्म शाक्यलाई विवाह गर्ने मन थिएन । एक अन्तर्वार्तामा भनिएको थियो, ‘त्यतिबेला मेरो कोही प्रेमी थिएन,बिहे नगरी बस्ने सोच थियो’ । तर ओलीले प्रस्ताव राखेपछि मन पग्लियो । अन्तर्वार्तामा भनिएको छ, ‘म पनि कम्युनिष्ट पार्टीको सदस्य थिएँ, उहाँको तर्फबाट प्रस्ताव आएपछि मन पग्लियो,बिहे गर्न तयार भएँ ।’
तन्नेरी उम्मेर जेलमा खेर फालेका ओली ३६ वर्षको हुनुभएको थियो । जसरी हुन्छ,बिहे गर्ने उहाँको तयारीको बेलामा शाक्यले बिहेको लागि मन्जुरी दिनुभयो । असारमा थुनामुक्त भएपछि ओलीले फागुनमा पारिवारिक र पार्टीको मञ्जुरीमा विवाह गर्नुभएको हो ।
बिहेपश्चात शाक्यले ओलीका लागि धेरै कुरा त्याग गर्नुभएको छ । जसकारण कतिपयले उहाँलाई एक असल महिलाको उदाहरण दिने गरेका छन् । बिहेपछि ओलीकै राजनीतिक भविष्य सोचेर बालकोटमा घर बनाइदिएको ,२०५८ सालमा बालकोटको जग्गा किनेको, ०६० मा एउटा घर बनाएको र ०७० मा अर्को घर बनाएको शाक्यको पुस्तकमा उल्लेख छ ।
राष्ट्र बैंकमा काम गर्दा जम्मा गरेको पैसाले घर बनाएको शाक्यको भनाई छ । लेखिएको छ, ‘बैंकमा काम गर्दा केही पैसा जम्मा थियो, केही ऋण लिएर घर पूरा गरेकी हुँ । ०५८ सालमा जग्गा लिँदा त्यति महँगो थिएन यहाँ ।’ त्यस्तै, ओली टीबी, अल्सर,पायल्स,निमोनिया,हर्निया, एपेन्डिसाइटिस,मेनिन्जाइटिस, किड्नीलगायतका समस्याबाट गुज्रिदा पनि शाक्य दिलोज्यान दिएर सेवामा खटिनुभयो । श्रीमतीको जिम्मेवारीबाट उहाँ कहिल्यै नचुकेको निकटस्थहरु सुनाउँछन् ।
उता ओली पनि प्रेम पोख्नमा माहिर नै देखिनुभयो । बोलीमा जो–कोहीलाई लठ्ठ पार्ने उहाँ कहिले पत्नीलाई तरकारी उमार्नदेखि कहिले पकाउनमा समेत सहयोग गर्नुहुन्छ । कहिले भ्रमणमा सामेल गराउनुहुन्छ । पत्नीकै मन राखिदिन उहाँले बालुवाटारमा पुस्तक संग्रहालयसमेत बनाउनुभएको छ । त्यस्तै,पत्नीकै इच्छा र रहरमा केही बालबालिकाको अविभावकीय जिम्मेवारी लिनुभएको छ ।

प्रचण्ड र सीता
उता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी यो संसारमा हुनुहुन्न तर उहाँहरुबीचको प्रेम प्रसङ्ग पनि रोचक देखिन्छ ।
वि.सं. २०११ मंसिर १६ गते कास्कीको ढिकुरपोखरीमा जन्मिएका प्रचण्डले १५ वर्षको उमेरमै छिमेकी गाउँकी सीतासँग विवाह गर्नुभयो । उतिबेला सामान्य देखभेट मात्र भएका प्रचण्ड र सीतालाई नजिक ल्याउने काम गरेका थिए,केशवप्रसाद भट्टराईले ।
तुलनात्मक रुपमा त्यतिबेला प्रचण्डको परिवारभन्दा सीताको परिवार केही सम्पन्न थियो । बिहेको कुरा उठ्दा सीताको परिवारले प्रचण्डलाई छोरी दिन आनाकानी गर्यो । प्रचण्डको बुबा मुक्तिरामसँग चितवनमा मात्रै केही जमिन थियो । त्यही जमिनमा फलाएको अन्नले पूरै परिवार धान्नुपर्ने बाध्यता थियो । घरको कमजोर आर्थिक अवस्था देखेपछि सीताको परिवारले बारम्बार ‘कसरी छोरी पाल्छौ ?’ भनेर सोधेको उनै केशवप्रसाद भट्टराईले एक युट्युब अन्तर्वार्तामा खुलाएका थिए । भट्टराईले नै प्रचण्डको बखान गरेपछि बल्ल सीताको परिवार छोरी सुम्पन तयार भएको हो ।
बिहेपश्चात सीता साँच्चै रामायणको सीतासरह बनेको दाहाल परिवार निकटस्थहरु बताउँछन् । तत्कालीन नेकपा (माओवादी)ले २०५२ फागुन १ गते जनयुद्ध शुरु गर्दा सीता पनि प्रचण्डसँगै भूमिगत हुनुभयो । रामायणकी सीता रामसँगै बनवास जान तयार भएजस्तै जनयुद्धकी सीता प्रचण्डसँगै भूमिगत बन्न तयार भएको भन्न थालियो ।
केही दिन प्रचण्डसँग छुट्टिनुपर्दा उनलाई चिन्ताले सताइरहन्थ्यो । जंगलमा उनैले प्रचण्डलाई रोटी बनाएर र सातु पिसेर खुवाउनुभयो ।
२०७६ सालमा प्रचण्ड र सीताले वैवाहिक सम्बन्धको ५०औँ वर्षगाठ मनाउँदा छोरीहरु रेणु र गंगाले खुमलटारस्थित एक पार्टी प्यालेसमा बाबुआमाको दोस्रो बिहेसमेत गराइदिएका थिए ।
टिप्पणीहरू