यताको पीडा उता बरर...
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको पीडा प्रदेशका सांसदहरुलाई सुनाउनुभएको छ । लुम्बिनी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले प्रतिपक्ष दलहरु अध्यादेशविरुद्ध लागेकोमा दुःखेसो पोख्नुभएको छ ।
निजी क्षेत्रले अध्यादेशको स्वागत गरे पनि कतिपयले विद्रोही देखिनकै लागि विरोध गरिरहेको उहाँको आरोप छ । ‘हामीले छिटो छरितोको लागि अध्ययन गरेर अध्यादेश ल्यायौँ, सबै खुशी छन्’, उहाँले भन्नुभयो, ‘तर तपाईंहरुले देख्नुभएकै होला, संघीय संसदमा कसरी विरोधीहरु देखिइरहेका छन्, कोही विद्रोही देखिनकै लागि मात्र पनि विरोध गरिराख्या छन् ।’
एमाले अध्यक्षसमेत रहनुभएका ओलीले संघीयता कार्यान्वयनमा लुम्बिनी प्रदेश पहिलो भएको बताउनुभयो । संघीयताप्रतिको विश्वासलाई लुम्बिनीले प्रमाणित गरेको उहाँको अनुभव छ । ‘संघीयता स्थापनापछि यो फाप्ला कि नफाप्ला, काम लाग्ला कि नलाग्ला भन्ने प्रश्न उब्जिरहेका थिए, लुम्बिनीले ७ / ८ वर्षमै राजधानी निर्माण गरेर प्रमाणित गर्यो’, उहाँले थप्नुभयो ।
प्रधानमन्त्री ओलीले घुमाउरो भाषामा आफ्नै क्याबिनेटका मन्त्रीहरुको कार्यशैलीप्रति असन्तुष्टी समेत व्यक्त गर्नुभएको छ । उदाहरण दिँदै सुनाउनुभयो, ‘उता संघीय सरकारको मन्त्रालयले हजार शैयाको अस्पताल बनाउन सकेको छैन, यहाँ १२ सय शैयाको बेड बनिसक्यो ।’
प्रदेश सभाको बैठकपछि प्रधानमन्त्री ओलीले घोराहीमा पार्टीको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । काठमाडौं फर्कनुअघि तुलसीपुर पुगेर आफ्नै पार्टीकी नेतृ कोमल वलीको होटल उद्घाटन गर्ने बताइएको छ ।
टिप्पणीहरू