पूर्वराजाको भाषणपछि पूर्वपञ्चहरु प्रसन्न

पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था फर्काउन सक्रिय हुने प्रष्ट सन्देश दिँदै संघर्षमा उत्रिन आह्वान गरेपछि राजावादी कित्तामा खुशियाली छाएको छ । राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा सडक र सदनमा आवाज चर्काइरहेको पूर्वपञ्चहरुको पार्टी राप्रपादेखि सडकमा कराउँदै हिँड्ने दुर्गा प्रसाईंसम्म हर्षित देखिएका हुन् ।
प्रजातन्त्र दिवसको अवसरमा ज्ञानेन्द्रले हिजो भिडियोमार्फत् शुभकामना सन्देश सार्वजनिक गरेका थिए । जहाँ उनले देशको भलो होस् भनेर आफूले गद्दी त्याग गरेको उल्लेख गर्दै त्यसलाई कमजोरी नठान्न दलहरुलाई कडा चेतावनी दिएका छन् ।
त्यसो त, पूर्वराजा ज्ञानेन्द्रले गणतन्त्रको विरोधमा बोलेको यो नै पहिलो पटक होइन । तर, यसपाली भने पुनः शक्तिमा फर्किने चाहना व्यक्त गर्दै मूर्त शब्दमा आफूलाई साथ दिन अपिल गरेपछि राजावादी खेमा हौसिएको हो ।
राप्रपाका महामन्त्री तथा सांसद डा. धवल समशेर राणाले ज्ञानेन्द्रको हिजोको वक्तव्य सकारात्मक रहेको जनाउँदै स्वागत गरेका छन् । देशको अवस्थाप्रति पूर्वराजाको चिन्तन र सक्रियता प्रशंसायोग्य रहेको उनको भनाई छ ।
‘प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा राजा ज्ञानेन्द्रबाट राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धि र उन्नतिका लागि सबै नेपालीलाई साथ् दिन आह्वान भएको छ’, वक्तव्य निकालेर धवलले भनेका छन्, ‘देशको वर्तमान स्थितिबारे गम्भीर चिन्ता व्यक्त गर्दै नयाँ चिन्तन र सक्रियताका लागि राजा ज्ञानेन्द्रबाट आएको सकारात्मक अभिव्यक्तिको म स्वागत गर्दछु ।’
ज्ञानेन्द्रले जस्तै उनले पनि मुलुकको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै आन्दोलनमा उत्रन आह्वान गरेका छन् । पूर्वराजाको भाषणले राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाही पनि अत्यन्तै खुशी देखिएका छन् ।
फरक विचारमाथि आक्रामक भैहाल्ने उनी राजतन्त्र र गणतन्त्रको छिनोफानो गराउन जनमत संग्रहका लागि निर्णायक दबाब दिने दाबीसमेत गरे । हिजै फेसबुकमा स्टाटस लेखेर आन्दोलनमा ओर्लने जानकारी गराएका ज्ञानबहादुरले भनेका छन्, ‘प्रजातन्त्र दिवसको उपलक्ष्यमा शुभ सन्देश प्राप्त जो–जहाँ छौँ त्यतै स्थानमा रहनका साथै तयारी अवस्थामा रहन अनुरोध गर्दछौं । यो सन्देश सबैमा पुर्याउन अपिल गर्दछौं !’
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि देश बचाउन र बनाउन पूर्वराजाबाट भएको आह्वानलाई सकारात्मक रुपमा ग्रहण गर्न आग्रह गरेका छन् । गत चुनावताका लोकतन्त्रवादी बनेका र फेरि राजसंस्थाको पुरानै कित्तामा फर्किएका कमलले भनेका छन्, ‘देश बचाउन र बनाउन राजाबाट सहयोगका निम्ति आह्वान भएको छ । विनाआग्रह पूर्वाग्रह राजाको आह्वानमा सहयोगको हात बढाऔँ ।’
यता, राप्रपाका नेता रविन्द्र मिश्र पनि पूर्वराजा ज्ञानेन्द्रको शुभकामना सन्देशप्रति नतमस्तक देखिएका छन् । वैकल्पिक राजनीति छाडेर राप्रपामा मिसिएका र पछिल्लो समय खरो राजवादी बनेका उनले पूर्वराजाको सन्देशलाई १२ बुँदामा व्याख्या गरेका छन् ।
पूर्वराजा भिडियो सन्देशसहितको व्याख्यात्मक टिप्पणीमा मिश्रले लेखेका छन्, ‘राजाको सन्देशमा सबैले सबैको कमजोरीलाई क्षमा गर्दै नवीन समझदारीमा जाने मनसाय व्यक्त भएको छ ।’ ज्ञानेन्द्रकै शैलीमा उनले देश बचाउन र बनाउन विगतका सम्पूर्ण त्रुटीबाट शिक्षा लिँदै ’राजा’ र राजनीतिक दलहरू एक ठाउँमा आउन अत्यावश्यक रहेको बताएका छन् ।
ज्ञानेन्द्रको आह्वानलाई ठूला दलहरूले पहिलेजस्तै अहंपूर्ण ढङ्गबाट लिने र तथानाम गर्ने हो भने राजनीतिमा हुने ‘सिस्टेमिक ओभरहलिङ’ पद्दतिपूर्ण र शान्तिपूर्ण नहुने मिश्रको ठहर छ ।
आफूलाई व्यवस्थाविरोधी अभियन्ता भनाउने मेडिकल व्यावसायी दुर्गा प्रसाईंले पनि राजनीतिमा सक्रिय हुने पूर्वराजाको संकेतलाई उत्साहपूर्ण ठानेका छन् । ‘अब भएन भनेर बस्ने होइन, राजा आफैँले समेत तदारुकता देखाएको यो क्षण हामी सबै जुट्ने बेला हो’, उनको भनाई छ ।
त्यस्तै, राष्ट्रिय शक्ति नेपालले पनि पूर्वराजाको सन्देशको खुलेर स्वागत गर्दै त्यसलाई मन, बचन र कर्मले पूरा गर्ने प्रतिवद्धता जनाएको छ । अध्यक्ष केशरबहादुर बिष्टले विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्, 'देशमा शान्ति, समृद्धि र उन्नतिको लागि राष्ट्रिय एकताको प्रतीक राजसंस्थाको अपरिहार्यता छ भन्ने कुरामा हामी दृढ छौँ । यस महान कार्यमा सबै नेपालीको सहयोगका लागि हार्दिक आह्वानसमेत गर्दछौँ ।'
टिप्पणीहरू