हिजो झोक्किए, आज मागे माफी
नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले हिजो झापामा देखाएको आवेगपूर्ण व्यवहारप्रति माफी मागेका छन् । बोल्नेक्रममा मनोवैज्ञानिक रुपले अवरोध सिर्जना गरेका कारण असहज भएको उनको स्पष्टीकरण छ ।
पार्टीले झापाबाट थालेको हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियानको उद्घाटन समारोहमा उनी हिजो मञ्चमै कार्यक्रम सञ्चालकसँग झोक्किएका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि कतिपय माओवादी नेता तथा कार्यकर्ताले नै श्रेष्ठको चर्को आलोचना गरेको पाइन्छ ।
आज पूर्व उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठले हिजोको घटनामा माफी मागेका छन् । ‘म बोल्न जाँदा अलिकति सुरुवात मात्र के गरेको थिएँ, त्यहाँ मनोवैज्ञानिक रुपमा अवरोध सिर्जना भएको जस्तो महशुस भयो, त्यसले मलाई बिझायो’, उनले भने, ‘त्यसपछि मैले थप बोलिनँ, त्यसलाई सामान्य रुपमा लिन म सबैलाई आग्रह पनि गर्छु ।’
हिजोदेखि विभिन्न शुभचिन्तकहरुले फोन गरेर आफूलाई सम्झाएको पनि श्रेष्ठले बताए । ‘तपाईंजस्तो अग्रणी व्यक्तित्वले झापामा त्यसो नगरेको भए नि हुन्थ्यो भनेर धेरैले मलाई फोन र मेसजमा पनि भन्नुभयो, म सार्वजनिक रुपमै क्षमा याचना र आत्मालोचना गर्न चाहन्छु’, उनले थपे ।
यस सानो घटनाले पार्टीको जागरण अभियानलाई कुनै फरक नपर्ने उनको भनाई भनाई छ । शिवरात्री मेलाको उद्घाटन गर्न चितवन पुगेका श्रेष्ठले साँझ पुनः पार्टीको अभियानमा जोडिने पनि बताएका छन् । उता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरु आज मोरङ जिल्लाका तीन वटा आमसभामा सहभागी हुने कार्यक्रम छ ।
टिप्पणीहरू