सरकारको आयु लम्ब्याउन अनेक जालझेल गरिँदैछ - उपेन्द्र यादव

सरकारको आयु लम्ब्याउन अनेक जालझेल गरिँदैछ - उपेन्द्र यादव

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र एमाले सरकारको आयु लम्ब्याउन अनेक जालझेल गर्ने र अरु दललाई कमजोर बनाउने नीतिमा रहेको टिप्पणी गरेका छन् । 

आजदेखि शुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक तथा संगठनात्मक प्रतिवेदन पेश गर्दै उनले केपी ओली नेतृत्वको दुई दलीय सरकार पूर्णत: असफल भएको बताए । सुशासन, समृद्धि र विकासको पक्षमा ठोस काम गर्नुपर्नेमा सरकार कोरा नारामा सीमित भएको उपेन्द्रको भनाई छ । 

जनतामा नैरास्यता बढ्दोक्रममा रहेको उल्लेख गर्दै उनले राष्ट्रिय हितको रक्षा गर्दै सन्तुलित परराष्ट्र नीति कायम गर्न सरकार चुकेको दाबी गरे । फलत: सरकार असक्षम र असफल सावित भएको उपेन्द्रको जिकिर छ । 

‘सरकार गठन पश्चात मुलुकमा सुशासन, समृद्धि र विकास गर्नुभन्दा बढी कोरा नारामा मात्र सिमित रहेको देखिन्छ । सरकारप्रति जनतामा नैरास्यता बढ्दो छ', उनले भने, 'भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु, सुशासन कायम गर्न नसक्नु र आर्थिक विकास गरी समृद्धि प्राप्त गर्ने सरकारको कुनै ठोस नीति कार्यक्रम तथा योजना देखिन्न ।'

सरकारमा सहभागी दलका नेता र परिवारका सदस्यहरु नै ठूला–ठूला भ्रष्टाचार काण्डमा संलग्न रहेको प्रमाण भेटिंदासमेत सत्तामा बस्नेहरु मौन रहेको उपेन्द्रको गुनासो छ । संविधानले व्यवस्था गरेको बहुदलीय व्यवस्था प्रतिकूल काम गर्न सरकार उद्दत रहेको उनले आरोप लगाए ।

टिप्पणीहरू