बीमा प्राधिकरणका पूर्वअध्यक्ष सिलवालको पुनर्बहाली नहुने
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझाले नियुक्ति पाएको एक साता नबित्दै भ्रष्टाचार मुद्दामा तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालले सफाइ पाएका छन् ।
विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले आज सिलवालको पक्षमा फैसला गरेको हो । उनीमाथि उमेर ढाँटेर जागिरको अवधि लम्ब्याएको अभियोग थियो ।
उक्त आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेसँगै सिलवाल निलम्बनमा परेका थिए । त्यसपछि अदालतमा मुद्दा विचाराधीन रहेकै बेला सरकारले नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया शुरु गरेको थियो ।
अघिल्लो सोमबार बसेको क्याविनेट बैठकले नेपाली कांग्रेसको कोटाबाट सिफारिसमा परेका ओझालाई सो पदमा लैजाने निर्णय गर्यो । यता सिलवालले अदालतबाट सफाइ पाए । यस्तो स्थितिमा ओझाको पद कायम रहन्छ कि रहँदैन भन्ने कतिपयमा जिज्ञासा देखिन्छ ।
भ्रष्टाचारमा उन्मुक्ति पाएपछि कानुनत: निलम्बन फुकुवा हुने भएकाले त्यस्तो अनुमान गरिए पनि कार्यकाल सकिएकाले सिलवाल प्राधिकरणमा फर्किने छैनन् । ओझाले नियुक्ति पाउनुअघि नै उनको पदावधि सकिएको हो ।
चार वर्षे कार्यकालका लागि सिलवाल २०७७ माघ २० गते बीमा प्रधिकरणको अध्यक्ष नियुक्त भएका थिए ।
टिप्पणीहरू