प्रधानमन्त्रीले बजेट पुर्याए पनि....

माघ १४ गते प्रधानमन्त्रीको विशेष पहलमा अर्थ मन्त्रालयले व्यासको पैदलबाटो निर्माण गर्न गाउँपालिकालाई ५ करोड बजेट उपलब्ध गराएको थियो । स्थानीय पूर्वाधार विभागको ५० लाख रूपैयाँसमेत गरेर व्यासक्षेत्र जोड्ने पैदलबाटो खुलाउन गाउँपालिकालाई ५ करोड ५० लाखको अख्तियारी प्राप्त भएको छ ।
आइतबार सुदूरपश्चिम प्रदेशसभालाई संबोधन गर्नेक्रममा प्रधानमन्त्रीले दार्चुला सदरमुकाम खलंगाबाट व्यासको छाङरु जाने गोरेटोबाटोलाई महत्व दिएर ५ करोड बजेट दिइएको बताएका छन् । ‘छाङरु कमसेकम यतै (नेपाल)बाट जान सकियोस् भनेर बजेट दिइएको’ प्रधानमन्त्रीको भनाइ छ । भारतीय बाटो भएर यात्रा गर्दा ‘स्थानीयले ह्युमिलिएशन (अपमान) खेप्नुपरेको अवस्था हटाउन पैदलबाटोलाई महत्व दिइएको’ प्रधानमन्त्रीको भनाई छ ।
केन्द्रले बजेट दिएपछि गाउँपालिकाले ठेक्का प्रक्रियामार्फत निर्माण कार्यको तयारी थालेको छ । गाउँपालिकाले पैदलबाटोको बजेट कार्यान्वयनबारे छलफल गर्न माघ २० र फागुन १ गते गरी दुईपटक सर्वपक्षीय छलफल गरेको छ । तर प्रचलित ऐन र मापदण्डअनुसार गर्नुुपर्ने भन्दै फागुन १३ गते टेण्डर निकालिएको छ । ठेक्का प्रक्रियामार्फत मात्रै बाटो निर्माणको बजेट कार्यान्वयन गर्न सकिने कार्यपालिकाको निश्कर्षपछि टेण्डर निकालिएको गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले बताए । गाउँपालिकाले टेण्डरको सूचना निकालेपछि नेता र स्थानीयवासी भने आक्रोशित भएका छन् । यो प्रक्रियामा ठेक्का व्यवस्थापन हुन मात्रै दुई महिना लाग्ने भएकोले समय अभाव हुने स्थानीयवासीको भनाइ छ ।
बाटो निर्माण गर्नुपर्ने क्षेत्रमा भूगोलको अवस्था र बजेटको आकार हेर्दा १८ महिना लाग्ने निर्माण व्यवसायी संघ दार्चुलाका अध्यक्ष सर्पराज बडु बताउँछन् । तर संघीय सरकारले चालू वर्षका लागि मात्रै सशर्त अनुदानअन्तर्गत बजेट दिएकाले असारभित्रै बजेट कार्यान्वयन गरिसक्नुपर्ने बाध्यता छ ।
सुदूरपश्चिम प्रदेशसभालाई संबोधन क्रममा प्रधानमन्त्री ओलीले भारतीय अतिक्रमणमा परेको ॐ हिमालको स्मरण गरेका छन् । वेदव्यासले तपस्या गरेको क्षेत्र रहेकोले व्यास हिमाल र व्यास क्षेत्र नामकरण गरिएको प्रसंग पनि निकालेका छन् । तर, सीमा अतिक्रमणको विषय भने प्रधानमन्त्रीले कोट्याएनन् ।
टिप्पणीहरू