काँग्रेसले चिहान हडपेको भनेपछि संसदमा कलह
सत्तारुढ नेपाली कांग्रेसमाथि नेवार समुदायको चिहान हडपेको आरोप लागेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले काठमाडौंको तारकेश्वर–९ स्थिति लोकतान्त्रिक चोकमा रहेको चिहानको जग्गा कांग्रेस नेताले कब्जा गरेको दाबी गरेका हुन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले भने, ‘काठमाडौं क्षेत्र नं. ६ मा पर्ने तारकेश्वर– ९ को लोकतान्त्रिक चोकमा रहेको नेवार समुदायको चिहान रहेको जग्गा, नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नं. ६२/६३ नेपाली कांग्रसका नेताले कब्जामा लिइ भोगचलन गर्दै आइरहेको र स्थानीयवासीको गुनासो र उजुरीको वाबजुद स्थानीय निकायले उक्त जग्गा संरक्षणमा ल्याउन कुनै पहल नगरेको आम गुनासो छ ।'
कांग्रेसका कुन नेताले चिहान हडपेको भन्नेचाहिँ सांसद खनालले खुलाएनन् । रास्वपाकै अर्का सांसद सुमना श्रेष्ठले पनि उक्त जग्गाको बारेमा अनुसन्धान गर्न माग गरेकी छन् ।
रास्वपाका दुई सांसदले सरकारी जग्गा कब्जा गरेको दाबी गरेपछि कांँग्रेस सांसदहरुले विरोध जनाएका छन् । राजेन्द्र केसी, राजेन्द्र बजगाईँ, सुशीला थिङलगायतले उठेर आपत्ति प्रकट गरेपछि कांग्रेसका अन्य सांसदहरुले होहल्ला गरेका थिए ।
त्यसपछि सभामुख देवराज घिमिरेले तथ्यमा टेकेर मात्र अभिव्यक्ति दिन ध्यानार्षण गराएसँगै अहिले लफडा साम्य भएको छ ।
टिप्पणीहरू