‘नाम सुब्बीनी, के खाएर उभिनी’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले तस्कर र विदेशी ठेकेदारलाई पोस्न सरकारले अनेक हतकण्ड अपनाइरहेको टिप्पणी गर्नुभएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा पेश गरेको नीजिकरणसम्बन्धी विधयेकउपर विरोध प्रस्ताव राख्दै उहाँले यस्तो बताउनुभएको हो । पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका केसीले संविधानमा लेखिएको ‘समाजवाद उन्मुख’ शब्दलाई स्मरण गर्न पनि आग्रह गर्नुभयो ।
‘संविधानमा चाहिँ समाजवाद उन्मुख भनेर लेख्ने, अनि राजनीति गर्नेहरु चाहिँ पैसा सोहर्न लाग्ने’, उहाँले भन्नुभयो, ‘नाम सुब्बीनी, के खाएर उभिनी भन्याजस्तो !’
नीजिकरण विशुद्ध पुँजीवाद र साम्राज्यवादको आर्थिक योजना रहेको उहाँको तर्क छ । ‘समाजवादको कुरा गर्नेले पुँजीवादी र साम्राज्यवादीको कार्यक्रम बोकेर हिँड्न सुहाउँछ ?’, उहाँले सोध्नुभयो ।
पञ्चायतको समयमा शक्ति राष्ट्रहरुले नीजिकरणको प्रस्ताव लादेपछि मुलुक ओरालो यात्रामा लागेको केसीको महशुस छ । उदाहरण दिदैँ थप्नुभयो, ‘गैँडाकोटमा कागज कारखाना थियो । पश्चिमका सबै पराल त्यहाँ आउथ्यो । नागरिकले भीर पाखाबाट जम्मा गरेर खर ल्याउँथे, दशौँ हजारले रोजगारी पाएका थिए । तर अहिले त्यहाँको अवस्था के छ ? देख्नुभएकै होला ।’
अध्यक्ष केसीले नीजिकरण विधयेकलाई तत्काल फिर्ता लिन सरकारलाई आग्रह पनि गर्नुभयो । अघि भन्नुभयो, ‘छातीमा हात राखेर भन्नुस्, यो विधयेकले राष्ट्रको प्रगति हुन्छ ? अहँ पटक्कै हुँदैन । यो राष्ट्रघाती छ । सरकारले तत्काल फिर्ता गरोस् ।’
टिप्पणीहरू