प्रधानमन्त्रीका आर्थिक सल्लाहकारलाई राउन्ड टेबलको निम्तो

प्रधानमन्त्रीका आर्थिक सल्लाहकारलाई राउन्ड टेबलको निम्तो
सुन्नुहोस्

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एंव वैज्ञानिक महावीर पुनले प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई राउण्ड टेबलमा बोलाएका छन् । 

खतिवडाले मुलुकको विद्यमान कानुनको अध्ययन नगरी अभिव्यक्ति दिएको भन्दै पुनले स्वच्छ बहसको लागि निम्तो दिएका हुन् । पूर्व अर्थमन्त्रीसमेत रहेका खतिवडाले सोमबार राजधानीमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै १० वर्षपछि कोही नेपाली वैदेशिक रोजगारीमा जानु नपर्ने ठोकुवा गरेका थिए । 

उनले दावा गर्दै भनेका थिए, ‘एक दशकपछि वैदेशिक रोजगारमिा जानै नपर्ने अवस्था सिर्जना हुन्छ ।’ पुनले भने अहिलेको अवस्थामा खतिवडाको कुरा कुनै हालतमा पूरा नहुने बताएका छन् । 

‘युवराज खतिवडाज्यूसहित सबै पूर्व अर्थमन्त्रीहरु, अर्थशास्त्रीहरु र योजनाकारहरु आउनुहोस्’, उनले भनेका छन्, ‘तपाईहरु सबैसँग राउन्ड टेबलमा बसेर म स्वच्छ बहस गर्न तयार छु ।’

देशभित्रै रोजगारी सिर्जना गरेर विदेश जानुपर्ने परिस्थितिको अन्त्य गर्न पुनले केही सुझावसमेत दिएका छन् । उनका अनुसार मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन र रोजगारीको सिर्जना गर्न सरकारले पहिलो कदममा अहिलेको युवा पुस्तालाई अनुसन्धान तथा नवप्रवर्तनको काममा लगाएर उद्यमशिलताको लचिलो नीति ल्याउनुपर्छ । त्यसको लागि सरकारले कुल ग्राहस्थ उत्पादनको कम्तिमा एक प्रतिशत रकम मात्र भए पनि लगानी गर्नुपर्ने पुनको सल्लाह छ । 

‘खोई त त्यतातिर कदम चालेको ? तपाईसहित अरु अर्थमन्त्रीहरु सबैलाई भेटेर मैले यो कुरा राखेको थिएँ’, पुनले थपेका छन्, ‘खोई त, मेरो सुझाव सुनेको ? कृपया मेरो सुझाव सुन्नुहोस् र सोही अनुसार काम गर्नुहोस् । र नेताहरुलाई पनि सम्झाई बुझाई गर्नुहोस् ।’

पुनले अन्त्यमा आक्रोश र रोदनको इमोजीसमेत प्रयोग गरेका छन् ।

टिप्पणीहरू