वीरगञ्जमा हानाहान, राजधानीका क्याम्पसमा तालाबन्दी

वीरगञ्जमा हानाहान, राजधानीका क्याम्पसमा तालाबन्दी
सुन्नुहोस्

पर्साको वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतदान भइरहँदा फर्जी मतदान गरेको भन्दै विभिन्न संगठनका विद्यार्थीहरुबीच हानाहानको अवस्था उत्पन्न भएको छ । नेकपा (एमाले) निकट अनेरास्ववियु र नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरुबीच हात हालाहाल भएको छ ।

अनेरास्ववियु निकट विद्यार्थीहरुले फर्जी भोट खसालेको अखिल (क्रान्तिकारी)को आरोप छ । नेपाली कांग्रेस निकट नेविसंघका विद्यार्थी नेताहरुले पनि क्याम्पसबाहिर नाराबाजी गरिरहेका छन् । वातावरण तनावग्रस्त बनेपछि जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोद ढुंगेल स्वयम् क्याम्पस पुगेका छन् ।

यता काठमाडौँ उपत्यकाका सात वटा क्याम्पसमा पनि व्यापक प्रहरी परिचालन गरिएको छ । आरआर क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस र नेपाल ल क्याम्पसको गेटमा अनेरास्ववियुका नेताहरुले विभिन्न मागसहित भोटे ताल्चा लगाएका छन् । 

त्यस्तै त्रिचन्द्र कलेज र पब्लिक युथ क्याम्पसमा नेविसंघले ताल्चा लगाएपछि निर्वाचनको प्रक्रिया अवरुद्ध छ । अखिल (क्रान्तिकारी)ले पनि अमृत साइन्स क्याम्सप र विश्वभाषा क्याम्पसमा ताल्चा लगाएको छ ।
 

टिप्पणीहरू