यौन व्यवसायको जिम्मा काँग्रेसले नलिने

सत्तारुढ दल नेपाली काँग्रेसले यौन व्यवसायलाई खुला गर्नुपर्ने सांसदको धारणा पार्टीले जिम्मा नलिने स्पष्ट पारेको छ ।
केही दिनअघि प्रतिनिधि सभाको बैठकमा प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने मत राखेका थिए । आज बसेको काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले घिमिरेले संसदमा बोलेको कुराको पार्टीले स्वामित्व नलिने बताए ।
यौन व्यवसाय खुला गर्नेबारेमा पार्टीले संस्थागत धारणा नबनाएको भन्दै उनले दुविधामा नपर्न आग्रहसमेत गरेका छन् । बैठकले त्यस किसिमको धारणा नराख्न घिमिरेलाई निर्देशन दिएको महतले जानकारी दिए ।
‘हाम्रो प्रमुख सचेतकजीले संसदमा बोलेको कुराको टिकाटिप्पणी भइरहेको छ । त्यो नेपाली काँग्रेस पार्टीको आधिकारिक धारणा होइन । त्यस्तो निर्णय नेपाली काँग्रेस पार्टीले लिएको छैन’, उनले प्रष्ट्याउँदै भने, ‘पार्टी पंक्ति र जनमानस दुविधामा नपरे हुन्छ । प्रमुख सचेतकजीले संसदमा यौन व्यवसायलाई खुला गर्नुपर्छ भनेर बोल्नुभयो । त्यो उहाँको नितान्त व्यक्तिगत कुरा हो । त्यस खालको धारणा नराख्न भनेका छौँ ।’
टिप्पणीहरू