काँग्रेसले बहुमत ल्याउन नसक्नुमा संविधान दोषी : शेरबहादुर देउवा

काँग्रेसले बहुमत ल्याउन नसक्नुमा संविधान दोषी : शेरबहादुर देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधानअनुसार एकल बहुमतको सरकार बन्ने अवस्था नरहने बताउनुभएको छ । 

समानुपातिक निर्वाचन प्रणालीका कारण यौटै पार्टीको बहुमत आउने सम्भावना नभएको धारणा राख्दै आउनुभएका उहाँले आज पनि सोही कुरा दोहोर्याउनुभएको हो । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यहि भएर अर्को पार्टीसँग गठबन्धन गर्नुपरेको स्पष्ट पार्नुभयो । 

कांग्रेसले बहुमत ल्याउन नसक्नुमा पार्टीको दोष नभइ संविधान नै त्यस किसिमको रहेको तर्क देउवाले गर्नुभयो । 'हाम्रो पार्टीको मेहनतका बाबजुत सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ । तर, बहुमत ल्याउन सकेको छैन । पार्टीको दोषभन्दा पनि संविधान नै यस्तो किसिमको छ । धेरै कारण छन् । यसलाई बुझेर बहुमत ल्याउने प्रयत्न गर्नुपर्छ’, भन्नुभयो । 

यद्यपि समावेशी, समानुपातिकताका आधारमा बनेको अहिलेको संविधान धेरै राम्रो हो भन्दै सभापति देउवाले यसलाई बचाइ राख्नुपर्नेमा जोडसमेत दिनुभयो । ‘अहिलेको संविधान अत्यन्तै राम्रो संविधान छ । यस संविधानअनुसार कुनैपनि पार्टीको बहुमत आउन धेरै गाह्रो छ', उहाँ भन्नुहुन्छ, 'त्यसकारण कुनैपनि पार्टीसँग मिल्नुपर्ने आवश्यकता छ ।'

टिप्पणीहरू