प्रधानमन्त्रीलाई एसएलसी फेल भन्ने उपकुलपति सञ्जालमा ट्रोल

प्रधानमन्त्रीलाई एसएलसी फेल भन्ने उपकुलपति सञ्जालमा ट्रोल
सुन्नुहोस्

काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. अच्युत वाग्लेको पुरानो अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको छ ।  

केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री भएको बेला ‘एसएलसी फेल’ भनेर उनले खिल्ली उडाएका थिए । अहिले उनै ओली नेतृत्वको सरकारबाट उपकुलपति पदको नियुक्ति लिएर पद तथा गोपनीयताको सपथ लिएका वाग्ले पुरानो अभिव्यक्तिका कारण एकाएक चर्चामा आएका हुन् । 

‘राष्ट्रपति आइए फेल, उपराष्ट्रपति टेस्ट फेल, प्रधानमन्त्री एसएलसी फेल, परराष्ट्रमन्त्री नौ कक्षा फेल, तर तिनले नै सत्ता चलाएको देश विरल्लै छन्’, उनले भनेका थिए, ‘उनीहरुको पदको रवाफ र बुद्धिको सर्कस देखाउने ठाउँ उद्घाटन समारोहभन्दा अर्को ठाउँ छैन ।’

देशका उच्च पदस्थ पदाधिकारीको सार्वजनिकरुपमै यसरी हुर्मत लिएका वाग्ले स्वयं काँग्रेस निकट मानिन्छन् । शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला ०७९ मा उनी विश्वविद्यालयको रजिष्ट्रार बनेका थिए । यसपटक ’एसएलसी फेल’ प्रधानमन्त्रीबाट उपकुलपति बनेका उनले प्रधानमन्त्री कार्यालय पुगेर सपथ लिएका हुन् ।

आफैँले एसएलसी फेल भनी उडाएको व्यक्तिबाटै सपथ लिएपछि सामाजिक सञ्जालमा वाग्लेमाथि कटाक्ष भैरहेको छ । अर्थशास्त्रमा पिएचडी गरेका र राष्ट्र बैंकका तत्कालीन गभर्नरको जनसम्पर्क सल्लाहकारसमेत रहिसकेका उनलाई विनोद बानियाँले लेखेका छन्, ‘तपाईं पनि त्यही सर्कसको कलाकार बन्न पुग्नुभयो, बधाई छ ।’

सुन्दर सापकोटाले ‘समय बलवान छ’ भन्दै व्यंग्य कसेका छन् । टिका श्रेष्ठले चाहिं सन्तुलित टिप्पणी गर्दै भनेकी छन्, ‘डिग्री र पिएचडी गरेकाहरुले पनि राजनीतिको झोला बोक्नैपर्ने परिस्थिति छ यहाँ ।’

टिप्पणीहरू