रेटिरेटी पत्नी मार्ने नेपालीलाई अमेरिकी अदालतमा उभ्याइँदै

रेटिरेटी पत्नी मार्ने नेपालीलाई अमेरिकी अदालतमा उभ्याइँदै
सुन्नुहोस्

अमेरिकाको भर्जिनिया राज्यमा क्रुर र पाशविक तवरले पत्नी हत्या गरेको फौजदारी अभियोग लागेका नरेश भट्टलाई भोलि स्थानीय अदालतमा उभ्याइँदै छ । मनासस प्रिन्स विलियम्स काउन्टी अदालतको मार्च २० तारिखको पेशीमा प्रहरी हिरासतभित्र रहेका भट्टलाई उभ्याउने तयारी छ । 

यस प्रकरणमा प्रहरीले आजसम्म पनि प्रमाण जुटाइरहेको त्यहाँका स्थानीयले बताएका छन् । भर्जिनियामा २४ वर्षदेखि बस्दै आएकी नेपालगञ्जकी बिना लामा खड्काका अनुसार नरेशमाथि नर्स पत्नी ममता काफ्लेको हत्या गरी  शव टुक्रा–टुक्रा पारेर बेपत्ता बनाएको आरोप छ । श्रीमतीको शवलाई टुक्रा पारेर बोरामा हालेको सिसिटिभी फुटेज पनि प्रहरीले पहिले नै फेला पारिसकेको छ ।

घटनास्थलबाट तत्काल रगतको नमुना संकलन गरी प्राप्त डिएनए नतिजापछि अदालतको ग्राण्ड जुरीले दिएको अनुमतिपश्चात् प्रहरीले अभियोग पत्र लगेको थियो । मंसिर दोस्रो साता पहिलो पेशी राखेको अदालतले भोलिलाई दोस्रो पेशी तोकेको छ । सेप्टेम्बर ८ देखि अक्टोबर ३ तारिखभित्र प्रत्येक दिन सुनुवाइ गरेपछि बल्ल फैसला सुनाइने बुझिएको छ ।

अमेरिकी सेनामा कार्यरत भट्टले पढे÷लेखेको नेपाली युवती खोज्दै बनेपाकी नर्स ममतासँग विवाह गरेका थिए । काखे छोरीलाई टुहुरो बनाउँदै निजले श्रीमतीको पाशविक हत्या गरेको खबर विश्वभर चर्चित छ । खड्का भन्छिन्, ‘अमेरिकी प्रहरीका निम्ति पनि यस हत्याकाण्डको प्रमाण संकलन गर्नु निकै पेचिलो काम भएको छ । गत जुलाई २७ को राति पत्नी हत्या गर्ने भट्टलाई प्रहरीले अगष्ट २२ मा पक्राउ गरेको थियो ।’

श्रीमान्ले मारेकोमा कुनै शंका नभए पनि शव हालसम्म फेला पर्न नसक्नुले त्यहाँका प्रहरीलाई टाउको दुखाएको छ । भर्जिनिया राज्यको कानुनमा मृत्युदण्डको व्यवस्था नभएकाले भट्टको जेल बास हुने पक्का भए पनि कति वर्ष भन्ने यकिन पछि मात्रै हुनेछ । अमेरिकी कानुनमा शव फेला नपरेसम्म सतप्रतिशत यही हो भन्न सकिँदैन । त्यसका लागि प्रमाण जुटाउने क्रममा प्रहरीलाई लामो समय लागेको सहजै अनुमान गर्न सकिन्छ ।

अमेरिकी फौजदारी अपराध इतिहासमा यसलाई नै लामो समयसम्म प्रमाण जुटाउन हम्मे परेको घटनाको रूपमा लिइएको छ । घटना भएको भोलिपल्टदेखि ममताको खोजी गर्ने स्थानीय नेपालीले उनी डेढ वर्षकी काखे छोरी छाडेर अन्यत्र जानै नसक्ने ठहर गरेका थिए । नेपालीको सोही मनोविज्ञानलाई अमेरिकी प्रहरीले आधार बनाउँदै अनुसन्धान नरेशमाथि केन्द्रित गरेको थियो । प्रहरीले भट्टका इमेल, फोन डिटेल सबै संकलन गरिसकेको छ । बुझिएअनुसार नरेश हत्यापछि भाग्ने तयारीमा थिए । साथै इमेल र फोन डिटेलबाट उनी अर्को विवाहको सोचमा रहेको पनि पत्ता लागेको छ । उनले श्रीमतीको निधनपछि कति समयमा अर्को विवाह गर्न सकिने भन्दै गुगल सर्चसमेत गरेको तथ्य पत्ता लागेको छ ।

प्रहरीलाई यसअघि नरेशले सत्य कुरा बोलेर समर्पण गर्न सक्ने अनुमान थियो । ‘सबै सत्य कुरा भन्छु,’ भन्दै अपराधीले समर्पण गरेमा सजायँ केही हदसम्म कम हुने कानुनी व्यवस्था छ । तर, आठ महिनासम्म टसको मस नभएपछि प्रहरीले आफ्नो बाटो तय गरेको हो । यसबारे बिना भन्छिन्, ‘हालसम्मको अवस्था हेर्दा नरेशले अदालतमा बहस गर्ने मनस्थिति बनाएको देखिँदै छ ।’ 

हिरासतमा रहेका उनीसँग वकिल र परिवारका सदस्यहरूले अनुमति लिएर भेट गर्न पाउँछन् । यसबीच, नरेशको बुबा अमेरिका पुगेको बुझिएको छ । नरेश हिरासतमा पुगेपछि नेपालबाट अमेरिका गएका ममताकी आमा र भाइले छोरीको हेरविचार गरिरहेका छन् । यस्तो गम्भीर अपराधमा मुद्दा किन लम्बिएको होला ? भनेर सोधिएको जिज्ञासामा अमेरिका बस्दै आएकी बिना भन्छिन्, ‘यहाँको अनुसन्धान र कानुनी प्रक्रिया धेरै लामो छ । चार्ज लगाएपछि यति महिनाभित्र यो प्रक्रिया पूरा गर्नु भन्ने कानुनी प्रावधान छ ।’ 

मानव सभ्यतामा विरलै हुने यस्तो घटनालाई अमेरिकी समाजमा भयावह उदाहरणको रुपमा लिइएको छ । त्यसैले अदालतमा हुने बहसका क्रममा लाइभ भिडियो प्रशारणको सोच बनाइएको बुझिएको छ । यसअघि पनि सोच्नै नसक्ने घटनाको अदालतमा बयान हुँदा कोर्ट टिभीमार्फत सर्वसाधारणलाई सूचित गरिन्थ्यो ।

कोर्ट टिभी एक अमेरिकी डिजिटल प्रशारण नेटवर्क हो । पे च्यानलको रुपमा परिचित यो टिभीले सन् १९९१ देखि वास्तविक अपराध वृत्तचित्र श्रृंखला, कानुनी विश्लेषण टक शो र प्रमुख आपराधिक मुद्दा प्रत्यक्ष प्रशारण गर्दै आएको छ । अर्कोतर्फ नरेशविरुद्धको मुद्दामा नेपाली दोभाषेको संख्याले पनि ढिलाइ गरेको हुन सक्छ । सरकारी निकायमा परीक्षा दिएर बन्नुपर्ने औपचारिक दोभाषे भर्जिनियामा दुई जना मात्रै छन् । पालैपालो उनीहरूले पछिल्ला दिनमा १६ घण्टासम्म काम गरेको बताइन्छ । जोशी थरका दोभाषे नियमित अदालत र प्रहरीसम्म पुगे पनि अन्य राज्यमा रहेका नेपाली दोभाषेलाई समेत भर्जिनिया बोलाउने तयारी भइरहेको छ ।
 

टिप्पणीहरू