‘सडकमा मान्छे उफार्दैमा लोकतन्त्र मासिँदैन’
प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा मान्छे उफारेर हाहा-हुहु गर्दैमा व्यवस्था परिवर्तन नहुने स्पष्ट पार्नुभएको छ ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको हो । जनताले धेरै लामो संघर्ष गरेर एउटा सचेतनाका साथ लोकतन्त्र प्राप्त भएको उल्लेख गर्दै प्रधानमन्त्रीले अन्य देशमा जस्तो हाहा-हुहुको भरमा व्यवस्था परिवर्तन नहुने जिकिर गर्नुभयो ।
केही मान्छेहरुलाई भ्रम छ नेपालमा पनि अरु केही देशहरुमा जस्तै उथलपुथल हाहा-हुहु गरेको भरमा हुन्छ भन्ने । नेपाली जनता धेरै लामो समय संघर्ष गरेर एउटा सचेतनाका साथ यहाँ आइपुगेका छन् । त्यसकारण लोकतन्त्रलाई सुदृढ गर्ने कुरामा नेपाली जनता पर्याप्त चनाखो छन्', उहाँले भन्नुभयो, 'अबको प्रश्न लोकतन्त्रलाई कसरी व्यवहारिक रुपमा सुदृढ गर्ने ? भन्ने हो । लोकतन्त्र मासिने कुरा हुन सक्दैन ।’
राजाहरुले सत्ता हत्याउन विभिन्न काण्ड मच्याएको बताउँदै प्रधानमन्त्री ओलीले राजतन्त्रको अधिनायकवाद नभोगेको अहिलेको पुस्ताले लोकतन्त्रप्रति प्रश्न उठाएकोमा अचम्म मान्नुभयो ।
‘हेर्दाहेर्दै दरबार हत्यकाण्ड जस्ता काण्डहरु भए, सत्ता हत्याउने काम भए । सत्ता हत्याएर समाचार वाचकका पछि बन्दुक उभ्याउने काम भए । यो भन्दा बढी व्याख्या गर्नु परेन । लोकतन्त्र कहाँ बच्यो ?', उहाँको प्रश्न छ, 'ति दिन नदेखेका मान्छे, त्यस जमानामा नजन्मिएको मान्छे अहिले यो भएन, त्यो भएन, तानाशाही भयो, अधिनायकवाद भयो भन्छन् । के अधिनायकवाद भन्नेकुरा भोगेकै छैनन् । हामी डेमोक्रेटिक सिस्टममा छौँ । यसमाथि धावा बोल्ने ?'
प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत-जुलुसमाथि पनि कटाक्ष गर्नुभयो । 'एयरपोर्टदेखि महाराजगञ्जसम्म खुला उद्घोषका साथ मान्छेहरुले मार्च गरेको देखियो । लोकतन्त्र हुनु हुँदैन, संविधान अनुसार देश चल्नु हुँदैन, कानूनी राज हुनु हुँदैन । अराजकता सिर्जना गरेर केही मान्छेहरुले सजिलो हुन्छ, अस्तव्यस्ता कायम गर्न--', उहाँको आक्रोश छ ।
टिप्पणीहरू