सरकारमाथि फेरि खनिए शेखर

सरकारमाथि फेरि खनिए शेखर

नेपाली काँग्रेसको संस्थापन इतर खेमाका नेता डा. शेखर कोईरालाले सरकार सुशासन कायम गर्न असफल भएको टिप्पणी गरेका छन् । 

कांग्रेससमेत सहभागी केपी ओली नेतृत्वको सरकारप्रति विगतदेखि नै असन्तुष्ट रहँदै आएका उनले सुशासनको अवस्था भयावह रहेको बताए । गिरिजाप्रसाद कोईरालाको १५ औं स्मृति दिवसका अवसरमा आयोजित 'गिरिजाप्रसाद र लोकतन्त्र' विषयक विचार गोष्ठीलाई आज काठमाडौँमा सम्बोधन गर्दै कोइरालाले भने, 'देशमा सुशासन पटक्कै छैन भनेपनि हुन्छ ।'

विभिन्न पदमा हुने नियुक्ति र बढुवामा वरीयता मिचेर मनलाग्दी भैरहेको भन्दै उनले चिन्ता जनाए । योग्यताका आधारमा नभइ मन परेको आधारमा कर्मचारी नियुक्ति हुने गरेको कोइरालाले दाबी गरे । 

‘आजको दिन पनि हामी सरकारमा छौँ । नेपाली काँग्रेस सरकारमा छ । नेपाली काँग्रेस र एमाले सरकारमा नै छौँ । हामीले सुशासनको लागि त कुरा गर्नुपर्यो, अगाडि बढाउनुपर्यो । भन्न त नहुने, सुशासन पटक्कै छैन भनेपनि हुन्छ', उनले भने, 'उहाँहरुलाई मन लाग्यो एक दुई तीन नम्बर लिस्ट आउँछ, मन्त्रिपरिषद्मा जान्छ, उहाँहरुलाई मन लाग्यो तेस्रो नम्बर लिनुहुन्छ, आफूलाई चित्त बुझेको छ भने एक नम्बर हालिदिनुहुन्छ, त्यसरी गइरहनुभएको छ ।'

नेता काईरालाले कांग्रेस सत्ता पक्षमा भए पनि सरकारलाई खबरदारी गर्ने जिम्मेवारी आफूहरुको भएको बताए ।

टिप्पणीहरू