शीतलनिवास कहिलेदेखि निषेधित

‘स्याल कराउने, कुखुरा हराउने’ भनेझैं आइतबार राजधानीमा राजावादीको भीड देखेर गणतन्त्रवादी त्रसित हुँदै राष्ट्रपति कार्यालय शीतलनिवास क्षेत्रलाई निषेधित घोषणा गरिएको हल्ला चलाइएको छ ।
त्यसो त संसद भवन नयाँ बानेश्वर, सिंहदरबार र शीतल निवास धर्ना, जुलुस, प्रदर्शनलगायतका कार्यक्रमका निम्ति सधैँजसो अघोषित रुपमा निषेधित ठाउँ नै हुन् । तापनि, यसअघिका सिडिओ जयनारायण आचार्यले यी स्थानमा निषेधित क्षेत्रलाई खुकुलो बनाएका थिए । भर्खरै काठमाडौँको सिडिओ तोकिएका ऋषिराम तिवारीले पहिलो पटक २४ गते शीतल निवास आसपासका क्षेत्रलाई निषेधित क्षेत्र तोके । जबकि पूर्वराजालाई स्वागत गर्ने मिति २५ गते मात्रै थियो ।
पूर्वराजालाई गरिने तामझामसहितको स्वागत कार्यक्रमका बेला कुनै अप्रिय घटना नघटोस् भन्दै ९ सय जना सशस्त्र प्रहरी र करिब १५ सय प्रहरी परिचालित गरिएको थियो । राजावादीहरूले निर्मल निवाससम्म ज्ञानेन्द्रलाई लैजाने रुटबारे सुरक्षा निकायलाई पहिला नै जानकारी गराएका थिए । पूर्वराजालाई गोल्डेनगेटदेखि निर्मल निवाससम्म पुग्न करिब तीन घण्टाभन्दा बढी समय लागेको थियो । उनलाई निर्मल निवाससम्म पुर्याउने लस्करमा करिब करिब २० देखि २२ हजारसम्म सहभागी भएको बताइन्छ ।
काठमाडौँ, आसपासका जिल्ला, तराईका बारा, पर्सा र रौतहटबाट पनि मान्छेहरूलाई ल्याइएको थियो । दीपक बोहोराले संसदीय निर्वाचन जितेको रुपन्देही र पूर्वआइजी धु्रवबहादुर प्रधानले जितेको नवलपरासी जिल्लाबाट समेत राप्रपासमर्थकहरु आएका थिए । बाइकको संख्या धेरै भएकाले लामो लाइन देखियो । स्वागत गर्ने राप्रपाका नेता–कार्यकर्ता अघिअघि हिँडे । तर, पूर्वराजाको गाडी पछाडि आफ्नो गाडी राखेर हात हल्लाउँदै दुर्गा प्रसाईले ठूलै नेता भएको भाव प्रदर्शन गर्न भ्याए । सो लस्करमा एक्लै भुत्भुताउने राजावादी लक्ष्मण खड्कालगायत स–साना झुण्ड पनि सहभागी थिए ।
ज्ञानेन्द्रको स्वागत प्रकरणलाई राजनीतिक दलहरूले कुन रुपमा बुझ्छन् र लिन्छन् भन्ने चासो पनि एकाएक बढेको छ । किनभने कुनै पनि कार्यक्रम बिथोल्नका निम्ति २–४ सय मान्छे नै काफी हुन्छन् तर राजाको भक्तभन्दा पनि राजनीतिक दलप्रतिकै वितृष्णाको रुपमा पनि यसलाई लिइएको छ ।
समिट एयरको चार्टर्ड फ्लाइटमार्फत पोखराबाट आएका पूर्वराजाले एयरपोर्टमा तैनाथ सुरक्षाकर्मीलाई के छ स्थिति भन्दै सोधेका थिए । जवाफमा तिनले ‘ठीकै छ सरकार’ भन्ने जवाफ दिएको बताइन्छ । त्यसो त आफूलाई अभिनन्दन गर्ने यसअघि राप्रपाको कार्यक्रमहरुमा समेत पूर्वराजाले जम्मा ३–३ लाखका दरले सहयोग दिने गर्दथे । यसपालि भने मन फुकाएरै खर्च गरेको बताइन्छ ।
टिप्पणीहरू