हुलका हुल लखनउ पुगेर के लाउँछन् नेपाली नेताले पोल ?

हुलका हुल लखनउ पुगेर के लाउँछन् नेपाली नेताले पोल ?
सुन्नुहोस्

नेपालका राजावादी र हिन्दुराष्ट्र समर्थकहरुले 'आदर्श पुरुष' मान्ने भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसंग 'आशिर्वाद' थाप्न पूर्वराजा ज्ञानेन्द्र शाहमात्र होइन गणतन्त्रवादी नेताहरुहरुको पनि लाइन लाग्न थालेको छ । काठमाडौँको सडकमा व्यवस्था परिवर्तनको नारा चर्किरहेका बेला संस्थागत रुपमा गणतन्त्र मान्ने पार्टीका एकथरी नेता खुसुक्क योगी भेट्न लखनउ र गोरखपुर पुगेर बुध्द जन्मथलो लुम्बिनीमा हुने गरेका चिनियाँ गतिविधिविरुध्द चुक्ली लगाउन थालेका  छन् । 

नेपाललाई हिन्दुराष्ट्र बनाउने पक्षमा खुल्लमखुल्ला वकालत गर्दै आएका योगी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका खास विश्वासपात्र मानिन्छन् । पूर्वराजा ज्ञानेन्द्रलाई 'हिन्दु सम्राट' का रुपमा स्थापित गर्न भित्रभित्र सक्रिय रहेको भनिएका उनको नेपाली काँग्रेस र मधेसवादी दलका नेताहरुसँग पनि राम्रो सम्बन्ध छ ।

नेपालका नेताहरुको दिल्लीसँग बिग्रिएको सम्बन्ध सुधारको सेतु बन्दै आएका योगीसँग कांग्रेसको एउटा टोलीले भेटेर फर्केकै दिन हिजो मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पनि भेटवार्ता गरेका छन् । 

कृष्णनगर नाकाबाट भारतको तुलसीपुर हुँदै मुख्यमन्त्री सिंह हिजो सुटुक्क लखनउ पुगेका हुन् । रामनवमीको अवसरमा जनकपुरमा आयोजना हुने रामजानकी विवाहको निम्तो दिन गएको भनिए पनि औपचारिक जानकारी गराइएको छैन । समाचार स्रोतका अनुसार योगी र सिंहबीच राम-सीता सर्किट परियोजना र अयोध्या पुग्ने पर्यटकलाई जनकपुरधामसम्म पुर्याउने योजनाबारे छलफल भएको छ । त्यस्तै, नेपाललाई हिन्दुराज्य घोषणा गर्न अभियान चलाउनुपर्ने विषयमा पनि कुराकानी भएको दावी गरिएको छ । 

अस्ति मंगलबार लुम्बिनीका पूर्व मुख्यमन्त्री डिल्ली चौधरी,कपिलवस्तुका पूर्व सांसद अभिषेकप्रताप साह र लुम्बिनी प्रदेशका साँसद सिके गुप्ता पनि कृष्णनगरकै बाटो भएर योगीकहाँ पुगेका थिए । उनीहरु त्यहाँ जानुको मुख्य उद्धेश्य देउवा-दिल्ली सम्बन्ध सुधारका लागि भनसुन गराउनु र चिनियाँ गतिविधिवारे पोल लगाउनुभएको बताइएको छ ।

भारतीय रुचि प्रतिकूल भनिएको वर्तमान सत्ता गठबन्धन जोगाउन काँध हालेका कारण पछिल्लो समय देउवाको दिल्लीसँग सम्बन्ध बिग्रिएको अनुमान गरिएको छ । गत माघको महाकुम्भ मेलामा स्नान र उत्तर प्रदेश सरकारले आयोजना गरेको 'महाकुम्भ समिट' मा सम्बोधन गर्न निम्त्याएका देउवाले अन्तिम घडीमा यात्रा रद्द गर्नुलाई भारतीय संस्थापनसँग उनको सम्बन्ध सुधार नभएको अर्थमा विश्लेषण गरिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस. जयशंकरले समय नदिएपछि योगीसँग भेट्ने प्रयास गरेका देउवालाई उनले समेत वास्ता नगरेको चर्चा चलेको थियो । 

दिल्लीले यसरी खुलेआम अस्वीकार गरेपछि अत्तालिएका देउवा दम्पत्ति दिल्लीसँग नजिकिन विभिन्न सूत्रको खोजीमा रहेको र सोहीअनुसार डिल्ली चौधरीलाई योगी भेट्न पठाएको कांग्रेसकै एकथरी नेताले दावी गरेका छन् । मोदीसँग आरजु र देउवाको भेट गराइदिन हारगुहार गर्दै पुगेको सो टोलीले लखनउमा सकारात्मक जवाफ पाएको बताइन्छ । 

समाचार स्रोतले सुनाएअनुसार नेपालमा हिन्दुराष्ट्रको मुद्दा बलियो भएकाले भारतको इच्छा के हो ? भन्ने आशयमा कुरा हुँदा योगीले 'ठीक छ,माथि सल्लाह गरेर खबर गर्छु' भनेका छन् । दुई देशबीच धार्मिक सम्बन्ध कायम गर्न विशेष जोड दिँदै उनले  राजतन्त्रको मुद्दामा पनि 'भारत नकारात्मक नरहेको' स्पष्ट सन्देश दिए । 

सिके राउत नेतृत्वको जनमत पार्टीका सांसद सिके गुप्ताले भने लुम्बिनी क्षेत्रमा चिनियाँ चलखेल बढेको भन्दै योगीलाई चुक्ली लगाएको बुझिएको छ  । स्मरण रहोस्,हिजोदेखि बुद्धको जन्मभूमिमा चिनियाँ सँलग्नतासहितको साताब्यापी शान्ति सम्मेलन र म्याराथन शुरु भएको छ ।

टिप्पणीहरू