गणतन्त्रमाथिको ग्रहण

गएको १५ दिन बडो असमञ्जसमा बित्यो । कारण थियो, ‘स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मुसाको बिगबिगी । चाबहिल पिपलको बोटबाट विष किनेर लगेँ । खान्छ तर मुसो मर्दैन ! साथी, माधवले भने पसलेले त विष नै नक्कली बेचेको रहेछ ! बाध्य भएर मुसाको खोर किनेँ । मुसालाई मन पर्ने भनिएको गोलभेंडा र वासनादार हरियो लोकल धनियाँ काटेर राखेँ । चिजको टुक्रो पनि सिउरेँ तर त्यतातिर मुसाले हेर्दा पनि हेरेन । अब के गरी यो बिगबिगीबाट मुक्त हुने ?
धुन्धुकारी विचार फुर्यो, मुसाको ताण्डव नृत्यबाट जोगिन झ्यालढोका थुनेर घरमै आगो लगाइदिने ! त्यसै गरियो । आगोले घर सल्किँदै गएपछि रापबाट जोगिन मुसा यता कुदे, उता कुदे अनि निकास नपाएर भटाभट मर्न थाले । मुसा कहीँ कतैबाट भाग्न पाएनन्, तिनको वंश नै विनाश भयो । एक्लै ताली बजाएर दुःख दिने मुसालाई खुच्चिङ भनेर हर्ष प्रकट गर्नसम्म भ्याइयो । मुसाबाट दिक्क भएको ज्यानले मुक्ति पायो भन्ठानेको त आगोको रापले ज्यान नराम्ररी पोल्न पो थाल्यो । खलखली पसिना आयो । लगाएको कपडा नै भिज्यो । हपहपी भइरहेको थियो । श्रीमतीजीले किन छट्पटाउँदै कराएको भनेर घच्घच्याएपछि झल्याँस्स ब्युँझिएँ । म त ओछ्यानमा रहेछु । मुसाबाट मुक्त हुन घरमा आगो लगाएको सपना पो देखिरहेको रहेछु ! उनले मुर्मुरिँदै भनिन्, ‘हेर कुबुद्धि ? घरमा आगो लगाएपछि मुसा मात्र मर्छन् कि आफैँ खरानी होइन्छ ? यति पनि ज्ञान आएन ? पसिनाले निथ्रुक्क भिजेको शरीरलाई कोल्टे पार्दै फुस्फुसाएँ, सपनीमा त्यतातिर ध्यानै पुगेनछ प्रिय !
सपनामा मुसा मार्न घरमा आगो लगाएर खुशी बनेको मेरो सोचलाई बिपनामा श्रीमतीजीले लल्कारेर यथार्थ अवगत त गराइन् तर अहिले विपनामा बहकिएको मनलाई कसले सुबाटो औँल्याइदिने ? बिलखबन्दमा परेको छु । यता, भौंतारियो, उता भौंतारियो सही बाटो पहिल्याइदिने कोही भेटिएको छैन । लौन, मेरो भड्किएर असमञ्जसमा परेको सोच र दृष्टिलाई कसरी मूलबाटोमा ल्याउने होला ? उपाय सुझाउनुस् न ...
मलाई यतिखेर अलमलमा पार्ने विषय भनेको संघर्ष, बलिदान र जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक गणतन्त्र हो । सार्वभौमसत्तासम्पन्न जनताले संविधानसभाबाट घोषणा गरेको लोकतान्त्रिक गणतन्त्र राजावादीबाट विस्थापित होला ? जात र वंशको आधारमा राजा बनाएर उसको पारिवारिक शासन चलाउने व्यवस्था चाहिएको हो कि जनताले, जनतामध्येबाट र जनताका लागि चुनेको दलित, जनजाति, महिला, मधेशी वा जुनसुकै नेपाली नागरिक सर्वोच्च पदमा पुग्ने व्यवस्था र अवस्था चाहिएको हो ? हामीलाई सक्षम, योग्य र कर्मशील नागरिकले नेतृत्व गर्ने लोकतान्त्रिक शासन व्यवस्था चाहिएको होइन ? यसमा विमति हो कि सहमति ? यसबारे कुनै द्विविधा छैन । त्यसोभए अहिले धमिलोपानीमा माछा मार्न खोज्ने अन्योल के हो त ?
अरू केही होइन ! मात्र लोकतान्त्रिक गणतन्त्रका नायक भनिएकाहरू जे भनेर शासनसत्तामा पुगेका थिए, तिनले तदनुकूल कामकुरो नगर्दा लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रमाथि ग्रहण लागेको छ, त्यसबाट लोकतन्त्रलाई कसरी मुक्त पार्ने ?
लोकतान्त्रिक गणतन्त्रमा आस्था विश्वास भएका, यसलाई स्थापित गर्न योगदान दिएका, आन्दोलन र क्रान्तिमा हामफालेका, जेलनेल र निर्वासन भोगेका, जीवन न्यौछावर गरेका विवेकी, स्वाभीमानी, निष्ठावान व्यक्तिहरूलाई अहिले भएको सकस यही हो । मध्यरातमा लागेको चन्द्रग्रहण अथवा दिउँसै लागेको सूर्यग्रहणको बेला भगवान्लाई छाडिदे भनेर चिसोपानीमा नुहाएर ग्रहणेलाई कालो भेडो वा कपडा हाँडाचिण्डा दान दिएर, भोजन गराएर चन्द्र सूर्यलाई ग्रहणरुपी राक्षसबाट मुक्त गराउने परम्परागत बाटो पहिल्याउने कि ग्रहणको कारण खोजेर त्यसको निवारण मार्ग रोज्ने ? पुरातनपन्थीहरू भनिरहेछन्, चिहान उधिनेर ज्ञानेन्द्रलाई सत्ता सुम्पेपछि नेपालका समस्या छुमन्तर हुनेछन् ! नवराज सुवेदीको नेतृत्वमा पूर्वपञ्चहरूलाई अघि लगाएपछि नेपालमा रामराज्य स्थापना हुन्छ ! तर, इतिहासको थोरै मात्र पनि ज्ञान भएका विवेकशीलहरू भनिरहेछन्, गणतन्त्रमा लागेको ग्रहणबाट त्यसलाई मुक्त गर्न मल्लिक र रायमाझी आयोगले दोषी ठह¥याएकाहरूलाई दण्ड र साधुलाई चौतारोमा राख्नुपर्छ । कानुनीराजको पालना गर्दै देश र समाजलाई अपराधी, डन, माफिया, भ्रष्टाचारी, कालाबजारी, तस्करी, दलाली, नातावाद कृपावाद, जातीवादबाट मुक्ति दिलाउनुपर्छ ।
तर, सरकार रसदपानी बढाएर नयाँ महाराजहरूको खान्की बढाउन लागेको छ । लोकतन्त्रको पहरेदार नयाँ लोकमानलाई बनाएर गणतन्त्रमा लागेको ग्रहण हट्नेवाला छैन । यो दिगो रहँदैन । गणतन्त्रका लागि यो अशुभ नै हो । यसको दुष्प्रभाव लामो समयसम्म रहनेछ । अहिले जनतामा देखिएको असन्तुष्टिको कारण यही हो । गणतन्त्रमाथि देखिएका ग्रहणबाट यसलाई मुक्त पार्ने हो भने गणतन्त्र अझ चम्किलो बन्नेछ । जसरी सूर्य र चन्द्रमा ग्रहणपछि चम्किलो देखिनेछन् त्यसैगरी लोकतान्त्रिक गणतन्त्र पनि सर्वसाधारणको घर आँगनमा झलमल्ल देखिनेछ ।
एक दशकअघि सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, मन्त्रीहरूलाई सुविधा दिने, बढाउने निर्णय मन्त्रिपरिषद्बाट नगर्नु नगराउनु बरु कानुन बनाएर गर्नु भनेको थियो । तर, उतिबेला अदालतबाट भएको आदेशलाई विभिन्न सरकारले कार्यान्वयन गरेनन् । जबकि त्यसपछि पटक–पटक कांग्रेस, एमाले र माओवादी दलहरूकै सरकार बने । अदालतको निर्णय कार्यान्वयन भएन । अहिले फेरि त्यतिबेला फ्लप भएको पूर्व विशिष्टहरूको रसदपानी बढाउने चक्कर शुरु गरिएको छ । यो सरासर गलत, दुराशययुक्त र राष्ट्रघाती छ ।
राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, अध्यक्ष बन्ने भनेको राष्ट्रले गरेको अलौकिक सम्मान हो । यस्तो गरिमायुक्त पदलाई पैसासँग तौलेर स्थापित गर्नु, सुख–सुविधासँग चुर्लुम्म बनाउन खोज्नु भनेको जनतालाई अपमान गर्नु हो किनभने हरेक भुइँमान्छेलाई देशको सर्वोच्च पदमा पुग्ने, जनताले अनुभूत गर्ने गरी योगदान दिने र सम्मान पाउने विशिष्ट अवसर पाउँछ । जनताको सेवा गर्ने यस्तो अवसर लोकतान्त्रिक गणतन्त्रले गर्छ न कि पूर्वमण्डलेहरूले प्रशस्ती गाएको सामन्ती राजतन्त्रले । देशको सर्वोच्च पदमा पुगेकाहरू आममानिस भएरै बाँच्नुपर्छ । धनुषाका डा. रामवरण यादव हुन् कि भोजपुरकी विद्यादेवी भण्डारी, प्रधानमन्त्री बनेका डडेल्धुराका शेरबहादुर देउवा हुन् कि चितवनका पुष्पकमल दाहाल, इलामका झलनाथ खनाल, रौतहटका माधव नेपाल, गोर्खाका डा. बाबुराम भट्टराई अथवा झापाका केपी ओलीहरू राजा–महाराजा होइनन् । न त यी राणा, शाहहरू नै हुन् ! यी त सर्वसाधारण नेपालीका सन्तान हुन् जो देशको सर्वोच्च पदमा पुगे भन्ने सन्देश मात्र हो । त्यसैले जिम्मेवारी सकिएपछि यिनले जहाँबाट प्रतिनिधित्व गरेका हुन् त्यहीँ गएर आफ्नो सामान्य जीवन ब्यतित गर्नुपर्छ । किनाराका मानिसबीच उनीहरूको संगत र बस–उठले जिल्लाकै बासिन्दालाई गौरवान्वित अनुभूत गराउँछ । त्यसैले आफ्नो आर्जनबाट जीविका चलाउने पूर्व विशिष्टहरू जनताको आँखाको नानी बन्नुपर्छ, बाँचुञ्जेल राज्य सञ्चालन गर्ने, राज्य दोहन गर्ने कुपात्र होइन ।
सेक्युरिटीको लावालस्कर अगाडि–पछाडि लगाएर, गरिब जनताले कर तिरेको राजस्व हसुरेर, भत्ता–सुविधा बढाउने प्रपञ्चले यिनको दिन सकिएर पत्रु बनेको मात्र प्रमाणित हुन्छ । यो जगजाहेर छ । आफ्नो घर भाडामा लगाएर राज्यकोषको रकम असुल्नु, रकम हिनामिना गर्नु भनेको भ्रष्टाचार गर्नु हो । भ्रष्टाचार गर्नु भनेको जघन्य फौजदारी अपराध हो । भ्रष्टाचार प्रमाणित भएको व्यक्ति जसरी सधैँका लागि सार्वजनिक पदमा अयोग्य मानिन्छ त्यसैगरी सरकारी राजस्व उछिट्याएर तर मार्ने पूर्वविशिष्टहरू पनि फौजदारी अपराध गर्ने कसूरदार हुन् । बंगलादेशमा निर्वाचित सरकारले स्वतन्त्रता सेनानीका सन्तानलाई मात्र सुविधा दिएर आमजनतालाई बाहिर पार्ने बलजफ्ती निर्णय गर्दा शेख हसिनाले सत्ताबाट मात्र होइन, देशबाटै नारायणहरि हुनुप¥यो । यो ज्ञान सबै शासकको मथिंगलमा घुसे उत्तम !
जीवनभर काम गरेका कर्मचारीलाई तलब दिन राज्यले ऋण लिनुपरिरहेको छ भने देशको सेवा गर्न पुगेकाहरूलाई सुविधा दिनु र लिनु विकसित, सभ्य समाजमा लाज–शरम नभएको नकच्चरोपन हो । लोकतान्त्रिक गणतन्त्र त यस्तो व्यवस्था हो जहाँ प्रत्येक नागरिक सुरक्षित र स्वाभीमानयुक्त हुन्छ भन्ने प्रत्याभूत गर्नुपर्छ । सत्तामा हुँदा जो चुक्छ, ऊ सधैँका लागि चुक्छ । गणतन्त्रमा पनि राणा शाहहरूले जस्तो तलब भत्ता सुविधा पेन्सन लिने भए यो के को गणतन्त्र ? यो त गणतन्त्रमा लागेको ग्रहण हो । छिटोभन्दा छिटो ग्रहण हट्नुपर्छ । त्यसपछि मात्र देशले गति लिन सक्छ र गणतन्त्र उत्कृष्ट व्यवस्था सावित हुन सक्छ । गणतन्त्रमा प्रत्येक नेपाली समान र नेपाली समाज समतामूलक हुनै पर्छ । अनि संसारभरका लागि उदाहरणीय नेपाल बन्न हामीले उत्कृष्ट अभ्यास गर्नु पर्दैन ? गौरवपूर्ण समृद्धि हासिल गर्नु पर्दैन ?
टिप्पणीहरू