कुलमानलाई हटाउने क्याविनेटको निर्णय बाहिरिएलगत्तै माओवादीको कडा प्रतिक्रिया

कुलमानलाई हटाउने क्याविनेटको निर्णय बाहिरिएलगत्तै माओवादीको कडा प्रतिक्रिया
सुन्नुहोस्

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने हिजो साँझको निर्णय सरकारले आज सार्वजनिक गरेको छ । 

क्याविनेटका निर्णय सार्वजनिक गर्नेक्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विषय बोलेका हुन् । घिसिङलाई पदमुक्त गरेको विषयमा हिजो पत्रकारले प्रतिक्रिया माग्दा उनले आफूलाई जानकारी नभएको बताएका थिए ।

'नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई हटाउने निर्णय भएको छ । प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य (ललितपुर) लाई नियुक्त गर्ने निर्णय पनि भएको छ,' मन्त्री गुरुङले भने। 

घिसिङलाई हटाउने क्याविनेटको निर्णय औपचारिकरुपमा सार्वजनिक भएलगत्तै प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले औपचारिक प्रतिक्रिया जनाएको छ । उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णय बदनियतपूर्ण र आपत्तिजनक भनेका छन् । 

माओवादीले निर्णय तत्काल फिर्ता लिन मागसमेत गरेको छ । क्याविनेटको निर्णय आधिकारिकरुपमा बाहिर नआउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो बेलुका कडा प्रतिक्रिया दिएका थिए । दुई तिहाइ बहुमतको दम्भको बलमा गरिएको निर्णयप्रति घोर निन्दा गर्दै उनले प्रतिरोध गर्न आग्रह गरेका थिए ।

टिप्पणीहरू