आजपनि सदनमा किचलो, एक घण्टाका लागि बैठक स्थगित

प्रतिपक्षी दलले अवरोध गरेपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्ती गरेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग्दै विपक्षीले सदन अवरुद्ध पारेका हुन् । बैठकको कारबाही शुरु गर्न खोज्दा विपक्षी दलका सांसद जर्याकजुरुक उठेका थिए ।
त्यसपछि अध्यक्ष नारायणप्रसाद दाहालले नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसाललाई बोल्न समय दिनुभयो । भुसालले कुलमानलाई सरकारले गरेको कारवाहीको विषयमा प्रधानमन्त्रीले बैठकमा आएर जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न नदिने हिजैको अडान दोहोर्याउनुभयो ।
अवरोधका बीच अध्यक्ष दाहालले नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलालाई बोल्न समय दिनुभयो । सिटौलाले सरकारले ल्याएको विधेयक ६० दिनभित्र प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता भएकाले बैठक सूचारु गर्न आग्रह गर्नुभयो ।
उहाँले विपक्षीले ६० दिनको समय सीमा कटाउनका लागि अवरोध सिर्जना गरेको आरोप लगाउनुभयो । त्यसपछि पटक-पटक आशन ग्रहण गर्न आग्रह गरेपनि विपक्षी सांसदहरुले नमानेपछि अध्यक्ष दाहालले बैठक एक घण्टाका लागि स्थगित भएको घोषणा गर्नुभयो ।
कुलमान कारवाही प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीहरुले हिजोदेखि संसदका दुबै सदन अवरुद्ध गरिरहेका छन् । प्रधानमन्त्री ओलीले भने कुनै हालातमा रोष्टममा उभिएर जवाफ नदिने जवाफ हिजै दिइसकेको स्थिति छ ।
टिप्पणीहरू