बाबुरामलाई राजावादीले देखाए कालो झण्डा

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईलाई राजावादीहरुले कालो झण्डा देखाएका छन् ।
दाङको घोराहीमा राजसंस्था पुर्नस्थापनाको मागसहित आन्दोलनमा उत्रिएका युवाहरुले कालो झण्डा देखाएका हुन् । उनीहरुले ‘बाबुराम भट्टराई, मूर्दावाद’, ‘विदेशी दलाल मुर्दावाद’, ‘इशाइतन्त्र बन्द गर’, ‘हिन्दुराज्य कायम गर’, ‘संघीयता खारेज गर’ लगायतका नारासमेत लगाएका छन् ।
त्यसअघि दाङमै पत्रकार भेटघाट गर्दै डा. भट्टराईले राजावादीहरुलाई ‘गोबर’ भनेका थिए । ‘१०/२० हजार मान्छेसँग को डराउँछ ? १०औं लाखको आन्दोलन गरेर आएका हौं हामी, मैले देख्या छैन ?’, उनको भनाई थियो, ‘पहिलेको आन्दोलन त अग्रगमनको निम्ति थियो, गुढ र गोबर त फरक हुन्छ नि ! हेर्दा उस्तै देखिन्छ तर गुणात्मक अन्तर हुन्छ, उनीहरूको गोबर हो ।’
त्यसो त, भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध आक्रमक टिप्पणी गर्दै आएका छन् । प्रजातन्त्र दिवसको अवसरमा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै शक्तिमा फर्किने इच्छा प्रकट गरेपछि कडा प्रतिक्रिया दिँदै भट्टराईले जेलमा राख्नुपर्ने बताएका थिए ।
टिप्पणीहरू