ठिटाठिटीहरु किन फाल्दैछन् ज्यान ?

ठिटाठिटीहरु किन फाल्दैछन् ज्यान ?

सबैभन्दा अमूल्य चीज हो, जीवन । ज्यान छ त सबथोक छ । तर, पछिल्लो समय मानिसहरू जिन्दगीसँग हार खाइरहेका छन् । स–साना विषयमा विवाद हुँदा पनि आत्महत्याको बाटो रोजिन्छ । एक्लोपन, वैदेशिक रोजगारी, दिक्दारी, अशान्ति, झैझगडा आत्महत्याको प्रमुख कारण हो । हालै मात्र एक महिलाले फेसबुक लाइभ दिँदै आत्महत्या गरिन् ।

सुनसरीको धरानकी ४० वर्षीया मीना राई पंखामा झुण्डिएकी हुन् । ‘लिभिङ रिलेसनसीप’ मा बसेकी उनले सबैतिरबाट एक्लिएर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । आफ्नै दाजुबाट बलात्कृत मीनालाई परिवारले एक्लो बनाएको थियो । दाजु पनि जेलबाट छुटिसकेका छन् । वैवाहिक सम्बन्ध पनि राम्रो नभएपछि एक्लै बस्दै आएकी उनी केही महिनायता मकवानपुरको भीमफेदी गाउँपालिकाका दिपेन गजमेरसँग ‘लिभिङ रिलेसन’ मा थिइन् ।

उनीहरूबीच विवाह भएको थिएन । लागुऔषध सेवनकर्ता दिपेन डेढ महिनायता दुबईमा छन् । त्यसअघि पनि विदेश बसेर आएका दिपेनले मीनालाई घर लगेका थिएनन् । हेटौंडा बस्दै आएकी मीनालाई दिपेनले जतिबेला पनि किचकिच गर्ने आफन्त बताउँछन् । अरुसँग लागेको भन्दै आक्षेप लगाउने गरेपछि उनले आत्महत्या गरेको ती आफन्तको भनाइ छ ।

‘ती बहिनीको जिन्दगी लथालिंग थियो । दाजुबाट बलात्कृत उनको घर फर्किने ठाउँ पनि थिएन । हेटौंडामा एक्लै बस्दै आएकी थिइन् । दिपेन गजमेर भन्नेको बानीव्यवहार खत्तम थियो । जतिबेला पनि गाली गर्ने, अरुसँग सल्कियो भनेर आरोप लगाउने गर्थें । उनी एकदमै तनावमा थिइन् । म मरिदिन्छु भनेर फेसबुक लाइभमै फ्यानमा पासो लगाइन्’, ती आफन्तले भने ।

यता, प्रहरीले भने उनको पोष्टमार्टम गरिएको बताएको छ । तर, त्यसको रिपोर्ट आउन बाँकी रहेको भनाइ छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका एक अधिकृतका अनुसार शव परिवारलाई जिम्मा लगाइएको छ । ती अधिकृतले भने, ‘उहाँको पहिले विवाह भएको रहेछ । तर, श्रीमान्सँग सम्बन्ध राम्रो नभएपछि अलग्गै बस्दै आउनुभएको रहेछ । सो क्रममा भीमफेदीका एक पुरुषसँग भेट भएको देखिन्छ । विवाह नभए पनि सँगै बस्नुहुँदोरहेछ । ती पुरुष अहिले दुबईमा छन् । उहाँको पोष्टमार्टम भएर शव परिवारको जिम्मा लगाइसकेका छौं ।’

उनको भनाइअनुसार जिल्लामा आत्महत्याका घटना व्यापक बढेको छ । दिनहुँजसो आत्महत्याको केस आउने ती अधिकृतले बताए ।

बर्सेनि ६ हजार बढीद्वारा आत्महत्या

प्रहरीको तथ्यांक हेर्ने हो भने आत्महत्याको दर बर्सेनि उकालो चढ्दै छ । बर्सेनि ६ हजार बढीले आत्महत्या गर्छन् । प्रायःजसोले विष पिएर, आफैँलाई आगो झोसेर, करेण्ट लगाएर, झुण्डिएर आत्महत्या गर्ने गरेका छन् । प्रहरीका अनुसार सबैभन्दा धेरै झुण्डिएर मर्छन् ।

०७५÷७६ मा पाँच हजार ७८५ ले आत्महत्या गरेको प्रहरी तथ्यांकमा उल्लेख छ । विष पिएर आत्महत्या गर्नेको संख्या एक हजार ३३६ छ । आगो लगाएर २४, झुण्डिएर चार हजार ३२७, औजार हातहतियारबाट १५, हामफालेर ४८, करेन्ट लगाएर चार, डुबेर ३० र बिस्फोटक पदार्थ प्रयोग गरी एक जनाले अकालमा ज्यान फालेका छन् ।

२०७६÷७७ मा आत्महत्या गर्नेको संख्या ६ हजार २५२ छ । सो वर्ष विष पिएर एक हजार १४६ जनाले सुसाइड गरेका छन् । आगो लगाएर, झुण्डिएर, हातहतियार, हामफालेर र करेण्ट लगाएर आत्महत्या गर्नेको संख्या क्रमशः १०, पाँच हजार ३९, २२, ३४ र एक रहेको छ । आर्थिक वर्ष २०७७–७८ मा आत्महत्या गर्नेको संख्या बढेर सात हजार १४१ पुगेको छ ।

त्यस वर्ष पनि झुण्डिएर मर्नेकै संख्या सबैभन्दा बढी छ । झुण्डिएर पाँच हजार ७३१ जना मर्दा एक हजार २८६ ले विष पिएका छन् । आगो लगाएर १५, औजार हातहतियारबाट १४, हामफालेर ४४, डुबेर ३५ जनाले आत्महत्या गरेको तथ्यांकमा उल्लेख छ ।

२०७८÷७९ मा ६ हजार ८३० ले आत्महत्या गरेको देखिन्छ । पाँच हजार ६८४ जनाले झुण्डिएर ज्यान फाल्दा एक हजार ४० जनाले विष सेवन गरेका छन् । आफैँलाई आगो लगाउनेको संख्या १४ रहेको छ । हामफालेर ४२, औजार हातहतियारबाट १७ र डुबेर ३३ जनाले आत्महत्या गरेका छन् । ०७९/८० मा आत्महत्याबाट ज्यान फाल्नेको संख्या ६ हजार ९९३ छ । त्यस साल झुण्डिएर पाँच हजार ९५६ ले आत्महत्या गरेका छन् । विष खाएर आत्महत्या गर्नेको संख्या ९३२ रहेको छ । आगो लगाएर ६ जनाको मृत्यु भएको छ । हामफाल्ने ४९, औजार हातहतियार १५ र डुबेर आत्महत्या गर्ने ३५ छन् ।

किन बढ्दै छ आत्महत्या ?

मुलुकमा एक दशकयता आत्महत्या निरन्तर बढिरहेको छ । दैनिक १६ जनाले अकालमा ज्यान फालिरहेका छन् । आत्महत्या गर्नेमा महिलाभन्दा पुरुष बढी छन् । आत्महत्यालाई निरुत्साहन गर्न नसके त्यसले भयावह रूप लिने प्रहरी अधिकृतहरू बताउँछन् । आत्महत्याको दर घटाउनका लागि नेपाल प्रहरीले अध्ययन पनि गरेको छ ।

‘आत्महत्या न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी अध्ययन, २०८१’ प्रतिवेदनसमेत प्रकाशित गरिएको छ । जसमा पिछडिएको र मधेशी समुदायमा सबैभन्दा बढी आत्महत्याका घटना हुने गरेको उल्लेख छ । करिब ९० प्रतिशत मानिसले मानसिक रोगका कारण आत्महत्या गर्ने प्रहरीको ठम्याइ छ ।
 

टिप्पणीहरू