काठमाडौं विश्वविद्यालयलाई अर्काे जिम्मेवारी

काठमाडौं विश्वविद्यालयलाई अर्काे जिम्मेवारी

इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) ले हिमालयन युनिभर्सिटी कन्सोर्टियमको सचिवालय काठमाडौं विश्वविद्यालयलाई हस्तान्तरण गरेको छ । इसिमोडको मुख्यालयमा आयोजित एक समारोहमा सचिवालय हस्तान्तरणको घोषणा गरिएको छ । 

सन् २००७ मा स्थापित हिमालयन युनिभर्सिटी कन्सोर्टियम विश्वविद्यालयको सञ्जाल हो, जसले हिन्दुकुश–हिमालय क्षेत्रभित्रका विश्वविद्यालयबीच सहकार्यलाई सघन बनाउँदै विकासका साझा चूनौती कम गर्ने गर्छ । 

कार्यक्रममा इसिमोडका पूर्वउपमहानिर्देशक तथा स्टेयरिङ कमिटीका पूर्वसदस्य डा.एक्लव्य शर्माले यस्ता सामूहिक प्रयासले हिमाली क्षेत्रमा दिगो विकासका लागि आवश्यक नीति र व्यवहारलाई सूचित गर्न निर्णायक भूमिका खेल्ने बताए । 

इसिमोड र यसको मुख्य दातृ निकायको सहयोगमा हिमाली विश्वविद्यालय कन्सोर्टियमले विश्वविद्यालय तथा ज्ञान–विनिमय संस्थाहरुलाई जोड्दै विशेषज्ञ, विद्यार्थी तथा अन्य सिकाई समुदायलाई एउटै प्लेटफर्ममा जोडेको छ । 

हाल हिमालयन कन्सोर्टियम हिन्दुकुश–हिमालयभित्र तथा बाहिर रहेका एक सयभन्दा बढी विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुको सञ्जालमा परिणत भइसकेको छ ।

सचिवालय काठमाडौं विश्वविद्यालयमा सार्ने निर्णयले कन्सोर्टियमको पूर्वनिर्धारित लक्ष्यअनुरुप कन्सोर्टियमलाई स्वतन्त्र बनाउनुका साथै स्थानीय मर्म र प्राज्ञिक छविमा ऊर्जा थप्ने विश्वास लिइएको छ । 

इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले यो समझदारीले दिगो पर्वतीय विकासका लागि क्षेत्रीय नेतृत्व र अनुसन्धानलाई सुदृढ पार्ने प्रतिबद्धतालाई प्रतिबिम्वित गरेको बताए । 

‘स्वतन्त्र र क्षेत्रीय छवि बनाएको कन्सोर्टियमलाई नयाँ उचाईमा पुर्याउन काठमाडौं विश्वविद्यालय वास्तवमै सक्षम छ । पर्वतका नयाँ पुस्ताका अनुसन्धानकर्ता, नवप्रवर्तक र नेताहरूलाई समर्थन गर्दै हामी निरन्तर सहकार्य गर्न तत्पर छौं,’ उनले भने । 

यस्तै, काठमाडौं विश्वविद्यालयले हिमालयन कन्सोर्टियमको सचिवालयमार्फत विश्वविद्यालयको नेटवर्क, सीप र क्षमता एचयूसीलाई सुदृढ बनाउने बताएको छ । 

‘हिन्दुकुश–हिमालय क्षेत्रका विश्वविद्यालयहरूबीचको शैक्षिक सहकार्यमा यो नयाँ माइलस्टोन हुनेछ । काठमाडौं विश्वविद्यालय क्षेत्र तथा क्षेत्रबाहिरका उच्च शिक्षण संस्थाहरूसँगको आफ्नो सहकार्यलाई अझ उपयोगी दिशामा अघि बढाउन तयार छ,’ विश्वविद्यालयका कुलपति प्रा.डा.अच्युत वाग्लेले भने ।

टिप्पणीहरू