राप्रपाको आन्दोलनमा दुर्गा प्रसाईका कार्यकर्तालाई 'नो इन्ट्री'

राजसंस्था पुनर्स्थापनाको पक्षमा हुने जुनसुकै आन्दोलनप्रति समर्थन जनाउने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत १५ गते तीनकुनेको प्रदर्शनमा सक्रिय सहभागिता जनायो ।
अन्तिम राजा ज्ञानेन्द्र शाहको रोजाईमा गठित नवराज सुवेदी नेतृत्वको 'राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन समिति' आयोजक रहेको उक्त कार्यक्रममा सहभागी हुन राप्रपाले अघिल्लो दिन साँझ विज्ञप्ति निकालेर अपिल गरेको थियो । आन्दोलनको जनकमाण्डर तोकिएका मेडिकल माफिया दुर्गा प्रसाईका कारण आन्दोलन हिंसात्मक घटनामा परिणत भएपछि भने राप्रपा जिम्मेवारीबाट निरन्तर पन्छिन्दै आएको छ ।
राजेन्द्र लिङदेन र ज्ञानबहादुर शाहीले आन्दोलनमा आफूहरुको संलग्नता नरहेको र सरकारको दमनकै कारण हिँसा भड्किएको भन्दै चोखिने प्रयास गरिरहेका छन् । तर, आन्दोलनको अघिल्लो दिन कार्यकर्तालाई सडकमा उत्रिन आह्वान गरेका उनीहरुले हिंसात्मक घटनाको नैतिक जिम्मेवारी लिनु पर्छ कि पर्दैन ? प्रश्न उठिरहेकै छ ।
जबकि प्रदर्शनकारीलाई हिंसात्मक गतिविधिमा उत्रिन ‘म्यानिपुलेट’ गर्ने र ‘अघि बढ्नुस्’ भन्दै भीडलाई उक्साउनेमा राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा नै थिए । त्यहि दिन राति पक्राउ परेका यी दुईविरुद्ध मुद्दा चलाउने सरकारको तयारी छ । तर, राप्रपाले भने उनीहरुको गिरफ्तारीप्रति आपत्ति जनाएको छ ।
त्यसदिन आन्दोलन किन र कसरी भड्कियो ? प्रहरीले गोली चलाउनुपर्ने अवस्था किनायो ? यसको छुट्टै चर्चा गर्न सकिन्छ । तर, राजसंस्था पुर्नस्थापनाका लागि हुने जुनसुकै कार्यक्रममा नैतिक समर्थन जनाउने लिखित निर्णय गरेको राप्रपाले दुई निहत्था नागरिकको ज्यान जानेगरी भएको तीनकुने घटनाबाट उन्मुक्ति पाउन सक्दैन । जिम्मेवारी लिएर अघि बढ्नु नै राजनीतिक चरित्र हो ।
यसबीच राप्रपाले आगामी मंगलबार काठमाडौँमा गर्न लागेको विरोध प्रदर्शन पनि अराजक हुने त होइन ? भृकुटीमण्डपमा हुने आन्दोलनमा हाल फरार रहेका राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाई समूहका मान्छे पनि सहभागी हुने हो कि ? राजावादी समूहकै एकथरीले यस्तो आशंका गरिरहेका छन् ।
तीनकुने प्रकरणपछि घरमै नजरबन्द भएका नवराज सुवेदीले कार्यवाहक संयोजक तोकेका डा. जगमान गुरुङले राप्रपाको प्रदर्शनमा ऐक्यवद्धता जनाइसकेका छन् । आज विज्ञप्ति सार्वजनिक गर्दै उनले राजावादीहरुलाई प्रदर्शनमा सहभागी हुन अपील समेत गरे । के भृकुटीमण्डपमा प्रसाई समूहका मान्छे पनि जान्छन् ? राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधानको जवाफ छ- हुँदैनन्, हामी सहभागी गराउँदैनौँ ।
संघीय सांसद तथा पूर्वमन्त्रीसमेत रहेका प्रधानका अनुसार राप्रपा अब प्रसाई समूहसँग टाढा रहने रणनीतिमा छ । एजेण्डा एउटै भए पनि मार्ग फरक रहेको उनको भनाई छ ।
‘अहिलेसम्म त्यो समूहसँग कुनै छलफल भएको छैन, हामीले चासो पनि दिएका छैनौँ’, जनआस्थासँग प्रधानले भने, ‘चैत १५ गतेको कार्यक्रममा पनि साझा एजेण्डा भएकै कारण हामीले कार्यकर्तालाई पठायौँ, तर अब त्यस्तो गल्ती अब दोहोरिदैन ।’
प्रसाई समूहले राजसंस्था पुर्नस्थापनको आन्दोलनलाई गलत बाटोमा डोर्याउन खोजेको उनको विश्लेषण छ । ‘हामीले शान्तिपूर्ण आन्दोलनबाट एजेण्डा अघि साछौँ, गुण्डागर्दी र हिंसा हाम्रो मेन्युमा पर्दैन’, उनले थपे ।
यदि १५ गतेको तीनकुने घटनालाई हिँसा भनेर स्वीकार गरिसकेपछि मिश्र र राणा पक्राउ परेकोमा राप्रपाको आपत्ति चैं किन ? प्रधानको जवाफ छ, ‘उहाँहरु हाम्रो पार्टीको नेता हो । एजेण्डामा ऐक्यवद्धता जनाउन कार्यक्रमस्थलमा जानु भएको हो, तर त्यसदिनको मुख्य आयोजक त प्रसाई समूह नै हो नि, उनीमाथि अनुसन्धान गरे हुन्छ नि !’
टिप्पणीहरू