‘बेहुली बनाउँछु भन्थ्यो, बौलाहा बनाई भाग्यो !’

–कृष्णमुरारी भण्डारी
गत शुक्रवार ‘नखाऊँ भने दिनभरिको शिकार, खाऊँ भने कान्छा बाबुको अनुहार’ भनेजस्तै भयो । लोकतान्त्रिक गणतन्त्र स्थापना र यसको विकासका लागि लाग्दा लाग्दै यो जुनीका साठी बढी वर्ष बिते तर यसको विरुद्ध प्रतिगामीहरू सल्बलाएको दिन छाती खोलेर जनताद्वारा, जनताको लागि, जनताकै पक्षमा उत्रिन मन लागेन । बडो धर्मसंकटमा परियो ।
फागुन अन्तिम सातादेखि तरंगित भएको राजधानी उपत्यकाको तीनकुनेमा चैत १५ गते भएको हत्याहिंसा, आगजनी र लुटपाटबाट राजावादीहरूको कुत्सित मनशाय पटाक्षेप भएको छ । राजा आऊ देश बचाऊ र गणतन्त्र मूर्दावाद भन्दै पूर्वराजा ज्ञानेन्द्रले नियुक्त गरेका ‘कमाण्डर’ दुर्गा प्रसाईंले देखाएको ताण्डव नृत्यले राजतन्त्रवादी सुकिलामुकिला दरबारिया भद्रभलाद्मीहरूको र एकदिन अगाडि राजाको कित्तामा प्रवेश गरेका तोर्पे बुद्धिजीवीहरूको अनुहारको पर्दा एकैचोटि च्यातिएको छ ।
त्यसदिनको सबैभन्दा मननीय र उत्साही बनाउने कुरा के भने, राजावादीहरूको कुत्सित, अपराधिक प्रवृत्ति निमेशभरमै नांगियो । राजाको निर्देशनमा प्रतिगामीहरूले श्रीलंका र बंगलादेशको जस्तै वातावरण तत्कालै बनाइहाल्ने र तीनकुने नजिकै नयाँ बानेश्वरमा रहेको संसद र त्यस तल्तिर रहेको सिंहदरवारमा कब्जा जमाउने दुस्वप्न तुरुन्तै मटियामेट मात्र भएन पूरै पर्दाफास भयो । सामाजिक सञ्जाल, सिसिटिभी, ड्रोनबाट भएका प्रत्यक्ष प्रशारणहरूले त्यसलाई छताछुल्ल नै पारे । लोकतान्त्रिक गणतन्त्रले अख्तियार गरेको उदार, खुला र स्वतन्त्र प्रेसले राजावादीहरूलाई नांगेझार पारिदियो ।
ज्ञानेन्द्रले दाजुको वंशविनासपछि अपुतालिमा पाएको गद्दी देशमा गणतन्त्रको घोषणा भएपछि त्यागेर नागरिकसरह निर्मल निवास र नागार्जुनमा बस्छु अनि व्यापार व्यवशाय गर्छु भनेपछि गणतन्त्रवादीहरूले क्षमादान दिएका हुन् । तर, उनले धनको उन्माद, महत्वाकांक्षा र दास तथा विदेशीहरूको उक्साहटबाट शासनसत्ता नै कब्जा गर्न राखेको कुत्सित मनासायसहितको प्रतिक्रान्ति तीनकुनेको घरका सिसासँगै झर्यामझुरुम भयो । राजाको प्रतिक्रान्ति चैत्र १५ गते स्वाहा भयो । अब पूर्वराजा देश, संविधान र राज्य विप्लवको फौजदारी अपराधको चौतर्फी घेरामा परेका छन् ।
यो त भयो राजाको प्रतिक्रान्तिको दुस्साहस ! तर प्रतिक्रान्तिको प्रयासको आधार बनाइदिने को हुन् ? किमार्थ भ्रम नरहोस्, यसका दोषी शरीरले प्राण त्यागिसक्दा पनि पद नछोड्ने गणतन्त्रका नेताहरू हुन् । गणतन्त्रका लगभग दुई दशकमा म्युजिकल चेयर गेममा जस्तै दोहोरिइरहेका नेताहरूले देशमा सुशासन, समृद्धि र सामाजिक आर्थिक न्याय दिन सकेनन् । उनीहरूले जनतामा आशा जगाउन सकेनन् । विकास कार्यलाई गति दिन लाग्नुको सट्टा सत्ता स्वार्थमा लिप्त भए । भ्रष्टाचार कतिसम्म चुलियो भने नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर पनि अकुत सम्पत्ति कमाउन लागे । बालुवाटारको जग्गा हिनामिना गरे । नीतिगत भ्रष्टाचार गरे । गिरिबन्धुमा अल्मलिए । राजावादी लिंगदेनलाई चुनाव जिताए , कमल थापालाई पार्टीको चुनाव चिह्नमा निर्वाचन लडाए । समानुपातिक सांसद पदको यति दुरूपयोग भयो कि श्रीमती, निर्वाचन हारेका र जनताबाट तिरस्कृतहरूलाई मनोनीत गरियो । व्यापारी, तस्कर, कालोबजारी, माफिया, गुण्डालाई प्रतिनिधि बनाइयो । श्रीमती, भाइछोरा, सालासाली, छोरीबुहारी, आफन्त र प्रेमी प्रेमिकालाई राज्यका निकायमा भर्ती गरियो । मन्त्रीसमेत बनाइयो । राष्ट्रिय उद्योगलाई बन्द गरेर कमाउ उद्योगलाई बढावा दिइयो । अपराधी, बिचौलिया, डन माफियालाई पोसियो । अहिलेको राजाको कमाण्डर दुर्गा प्रसाईंको घरमा मार्सी चामलको भात खानसम्म पुगे । अनि यही दुर्गा प्रसाईंलाई पार्टीको केन्द्रीय समितिमा मनोनीत गरे । लगभग प्रवक्ता नै बनाए । राजावादी जगमान गुरुङलाई प्रज्ञाप्रतिष्ठानको कुलपतिसम्म बनाए । न्यूनतम मूल्यमान्यताको पनि परिपालना गरेनन् । हुँदाहुँदा पूर्वमाननीय, सम्माननीयहरूलाई पेन्सनसम्म दिने दुस्साहसको तानाबाना बुने ।
२०४६ सालमा राजाको अधिनायकवादी निरंकुश व्यवस्थालाई जनआन्दोलनबाट विस्थापित गरेपछि प्रजातन्त्र, लोकतन्त्र र अहिलेको गणतन्त्रसम्मको व्यवस्था देशमा स्थापना भयो तर नेता र नेतृत्व एउटै व्यक्ति छन् । फ्रान्सेली क्रान्तिपछि जस्तै वंशवाद लाद्न खोजिरहेछन् । यसले जनतामा आक्रोश थपिरहेको थियो । राजाको निरंकुश व्यवस्थामा नानीमैयाँ दाहाललाई विधायक बनाएजस्तै सचेत जनताले गणतन्त्रकालमा सहकारी ठग नटवरलाललाई जिताएर पठाइदिए । गतिछाडा दलका स्वार्थी नेताहरूले झन् उसैलाई पटक पटक उपप्रधान र गृहमन्त्री बनाए । भ्रष्टाचारलाई ७ सय ५३ गाउँ÷नगर पालिकामा संस्थागत गरे । प्रदेशलाई वेकम्मा बनाए ।
संघीयतालाई सेतो हात्ती बनाउन खोजियो । भ्रम सिर्जना गरियो र भ्रष्टाचारलाई चुल्याइयो । कांग्रेस, एमाले र माओवादीका तीन नेताहरू कहिले कांग्रेस, माओवादी, कहिले माओवादी एमाले, कहिले माओवादी कांग्रेस, कहिले एमाले माओवादी र अहिले एमाले कांग्रेस सत्तामा छन् । तर जे भए पनि शेरबहादुर, केपी ओली र प्रचण्ड नै दोहोरिइरहेछन् । देशको प्रधानमन्त्री बनिरहेछन् । यिनैले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, अध्यक्ष र अन्य पदमा भागवण्डा गरिरहेछन् । हुँदाहुँदा राज्यको ढुकुटीको पहरेदार नेपाल राष्ट्र बैंकको गभर्नर पदसमेत भागबण्डा र स्वार्थसमूहको प्रभावमा अल्मलिइरहेको छ । सधैँ उही परिवार, उही व्यक्ति, उही अनुहार र हुदाहुँदा सम्माननीयहरू पनि पुनः राजनीतिमा आउने प्रपञ्च भइरहेको छ । यसबाट जनतामा वितृष्णा चरम तहमा पुग्न थाल्यो । नेताहरूमा नयाँ महाराजको चुरिफुरी प्रदर्शन भइरह्यो । चरम बेथिति र दुरूपयोग भयो । हुनु हुनामी गरियो । एउटा पार्टीसँग समीकरण ग¥यो, चुनाव जित्यो अनि अर्कोसंग मिलेर सरकार बनाउनु सामान्य व्यवहार भयो ।
यति हुँदाहुँदै पनि दलका मध्यपुस्ता झर्ला र खाउँला भनेर पर्खिरहे । गगन थापा, विश्वप्रकाश, घनश्याम, जनार्दन शर्मा, शंकर पोखरेल, विप्लवजस्ता जागृत भएर न बाहिर आउन सके नत पार्टीभित्रै उजागर बनेर बाटो बिराएको लोकतान्त्रिक गणतन्त्रलाई लयमा ल्याउन सके ! जनताको चाहना र मनोकांक्षालाई कहीँकतै उठाउन सकेनन् । हर्ष, बालेन, हमाललाई स्थानीय निर्वाचनमा सांकेतिक रूपमा जनताले जिताएर नेताहरूलाई सुध्रिने शिक्षा दिए तर नयाँ नेपालको रोल मोडल बनाउनुपर्ने उनीहरूसँगै मिति सकिएका नेताहरू पौँठेजोरी खेलिरहेछन् । पार्टीका नेता–कार्यकर्ता हनुमानदास मात्र होइन, नारायणहरि नै सावित भइरहेछन् !
राजनीतिशास्त्रका एक प्राध्यापक भन्छन्, ‘शक्तिको राजनीतिमा कसैले डेलिभरी दिन सक्दैन भने त्यो बूढो साँढेले कोरली बाच्छी ओगटे जस्तै हो । भीमकाय शरीर भएको बूढो साँढे ढिला हुँदा जसरी जवाँमर्द बहरले निमेशभरमै कोरलीलाई व्याउने बनाइदिन्छ त्यसैगरी सत्ता सुन्दरीलाई सुमर्न खोजे विस्थापित राजाले । आँट नभएका हुतिहारा राजाले आफूलाई कमाण्डर घोषणा गरेर होइन, शुरुमा वयोवृद्ध नवराज सुवेदी र पछि भाडाको बहर (दुर्गा प्रसाईं) लाई प्रतिक्रान्तिको नायक ठहर्याए । कमाण्डर बनाए । बिचरा राजालाई उट्पट्याङ बहरले यतिखेर घर न घाटको पो बनाइदियो । गीतकार पनि भएकाले निरास राजा निर्मल निवासमै डिप्रेसनको गजल गुनगुनाइरहेछन् रे – बेहुली बनाउँछु भन्थ्यो, बहुलाहा बनाएर भाग्यो !’
टिप्पणीहरू