प्रयासका बालबालिकालाई हिमालय एअरलाइन्सको सहयोग

प्रयासका बालबालिकालाई हिमालय एअरलाइन्सको सहयोग

हिमालय एअरलाइन्सले शैक्षिक क्षेत्रमा गर्दै आएको सहयोगलाई निरन्तरता दिएको छ । 

संस्थागत उत्तरदायित्वअन्तर्गत ‘शिक्षातर्फ पाइला’ अभियानमार्फत एअरलाइन्सले विगत एक दशकदेखि सहयोग जारी राखेको हो । यो वर्ष शैक्षिक सत्रको प्रारम्भमै प्रयास नेपालका बालबालिकालाई वर्षभरका लागि आवश्यक शैक्षिक सामग्री प्रदान गरेको छ । 

एअरलाइन्सका अनुसार पाठ्यपु्स्तक, नोटबुक, रजिस्टर, जुत्ता तथा अन्य आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । बालबालिकाको समग्र स्वास्थ्यको महत्वलाई ध्यानमा राख्दै यस वर्ष उनीहरुको लागि तन्ना र तौलियासमेत दिएको एअरलाइन्सले जनाएको छ ।

संस्थाका ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले हरेक वर्ष बालबालिकालाई आत्मविश्वासी, सक्षम र उज्जवल भविष्य बोकेका व्यक्तित्वमा रुपान्तरण भइरहेको हेर्न पाउँदा अत्यन्त खुशी लागेको बताइन् । 

उनले भनिन्, ‘धेरैजसो समाजमा समाहित भइसकेका छन् र स्वतन्त्र रुपमा जीवनयापन गरिरहेका छन् । यस्तो परिवर्तनको साक्षी हुनु साँच्चिकै हृदयस्पर्शी अनुभव हो, हामीले सँगै चालेका हरेक कदमको उद्देश्य र मूल्यलाई यसले अझ पुष्टि गर्दछ ।’

प्रयास नेपालकी अध्यक्ष मणि जोशीले संस्थाका लागि निरन्तर शक्तिको स्तम्भ भएकोमा हिमालय एअरलाइन्सप्रति आभार व्यक्त गरिन् । 

उनले भनिन्, ‘एअरलाइन्सको योगदान भौतिक सहयोगभन्दा धेरैमाथि छ, यसले बालबालिकाको जीवनमा प्रोत्साहन र आशामा निरन्तरता ल्याउँछ ।’

टिप्पणीहरू